
काठमाडौं । बाल बालिकाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था सिविन नेपालले बाल अधिकारको सम्मान गर्न सबैसँग आग्रह गरेको छ ।
५८ औं राष्ट्रिय बाल दिवसका अवसरमा सिविनले विज्ञप्ति जारी गर्दै यसरी बालबालिकाहरूलाई राष्ट्रिय गौरवका रूपमा सम्मान दिन र स्थापित गराउनका लागि सबैतिरबाट उनीहरूको विषय उठान गर्दै बालबालिकाको अधिकार प्रत्याभुतिको निम्ति नीति, बजेट बिनियोजन तथा बालसंक्षणका संरचनाहरुको सुनिश्चितता गर्दै बालअधिकारको सवाललाई विकासको मूलधारमा ल्याउन जोड दिएको छ ।
यस वर्षको वालदिवसको नारा ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने रहेको छ । “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने सोचले सबैतिरबाट स्वीकारोक्ति पाइरहँदा यस वर्षको राष्ट्रिय बालदिवसका लागि तय गरिएको नारा निकै अर्थपूर्ण रहेको पनि सिविनले जनाएको छ । बालबालिकाको संरक्षणको सवाल थप जटिल बन्दै गएको आजको अवस्थामा उनीहरूको सर्वोपरी विकास र उत्थानका लागि सबैभन्दा पहिले परिवार नै जिम्मेवार हुनुपर्दछ र सँगसँगै बालबालिका प्रति उत्तरदायी सरकार हुनु पर्ने पनि सिविनको भनाई छ । खासगरी बालबालिकाको संरक्षण र विकासका लागि स्थानीय सरकारको विशेष भूमिका रहने कुरा पनि सिविनले जनाएको छ ।
बालबालिकाको अधिकार संरक्षण र प्रवद्र्धनका लागि परिवार र सरकारका साथसााथै समाजमा विद्यमान सरोकारवालाहरूको पनि उत्तिकै भूमिका रहने सिविनले विज्ञप्तिमा जनाएको छ ।
सबै बालबालिकाहरूको गुणस्तरीय सार्वजनिक शिक्षा तथा स्वास्थ्यमा सहज पहुँच हुनुपर्नेमा सिविनको जोड छ ।
प्रतिक्रिया दिनुहोस्