
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ ।
लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गरेको हो ।
चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यले यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ ।
अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ । दर्ता नगरी ती मोबाइल सेटहरु चल्ने छैनन् । यो प्रणाली लागू हुनुभन्दा अघि चलनमा आएका मोबाइल सेटहरु भने स्वतः चल्नेछन् ।
सर्वसाधारणले नयाँ मोबाइल सेट किन्दा एमडीएमएस प्रणालीमा दर्ता भए नभएको पक्का गरेर मात्रै किन्नुपर्ने पनि प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।
त्यसैगरी, मोबाइल आयातकर्ता तथा बिक्रेताहरुलाई पनि स्वीकृत लिएर मात्रै बिक्री गर्न निर्देशन दिइएको छ । वैधानिक रुपमा मोबाइल सेट आयात गर्दै आएका ब्यापारीहरुले चोरी पैठारी तथा गैरकानुनी आयात रोक्नका लागि दबाब दिँदै आएका थिए ।
पछिल्लो समय सरकारले ३ सय डलरभन्दा माथिका मोबाइल सेट आयातमा प्रतिबन्ध लगाएपछि चोरी पैठारी झन् बढेको ब्यापारीहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्