
काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाउनुभएको छ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले नेकपा एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाउनुभएको हो ।
उहाँले नेकपा एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि नेकपा माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनशायले एकता गरेर कम्युनिष्ट पार्टीलाई विभाजित गरेको बताउनु भयो । उहाँले एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताउनु भयो ।
उहाँले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो गर्नुभयो । उहाँले चीर प्रतिपक्ष नेपाली काँग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन प्रचण्डपक्ष लागेको भन्दै नेकपा माओवादी केन्द्रलाई पुष्पकमल एण्ड कम्पनीको संज्ञा दिनुभयो । उहाँले चितवनजस्तो पवित्रभूमिमा अबका दिनमा छलछाम गर्न नदिने संकल्प गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का चितवन सहइन्चार्ज तथा माओवादी केन्द्रिय सदस्य यमबहादुर परियार लगायत नेता, कार्यकर्ता बिहीबार एमालेमा प्रवेश गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्