
काठमाडौं । लगातारको वर्षापछि आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा चारवटा भन्दा धेरै घर पुरेको छ ।
पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर र तुर्माखाँद गाउँपालिका–५ मा दुई घर पुरिएका प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
कमलबजार–६ मा पहिरोले घरभित्र पुरिएका केहीको शव निकालिएको र केही मानिस बेपत्ता भएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी भइरहेको अछाम प्रहरी कार्यालयले जनाएको छ ।
कमलबजारबाट भने ७ जनालाई जीवितै उद्धार गरिएको छ । यस्तै, तुर्माखाँद–५ मा पनि ९ जना बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिले पनि पानी परिरहेकाले उद्धार तथा खोजीमा समस्या भएको प्रहरीले जनाएको छ ।
यसैगरी, बिहीबार राति देखि परिरहेको अविरल वर्षाका कारण पूर्वी कैलालीमा सयौं घर डुबानमा परेका छन् ।
जिल्लाको भजनी नगरपालिका–८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर डुवानमा परेको प्रहरीले जनाएको छ ।
यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो ।
यस्तै, कुटी गाउँपालिका वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका २५० घर डुबानमा परेको बताइएको छ ।
डुबानमामा मानविय क्षति भने नभएको प्रहरीले बताएको छ । नदीको वहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्