१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धार गर्न नेता रावलको आग्रह


39
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वउपप्रधानमन्त्री डा. भिमबहादुर रावलले गृहजिल्ला अछामको विभिन्न स्थानमा पहिरोको चपेटामा परेकाहरुलाई तत्काल राहत तथा उद्धारको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अछामको कमल बजार, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएराति आएको पहिरोमा पुरिएर १६ जना भन्दा बढिको ज्यान गएको र ठूलै धनमालको क्षति भएको उल्लेख गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य उपचारको व्यवस्था गर्न र पीडितलाई राहतको लागि आवश्यक व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गर्नु भएको हो ।

त्यस अवसरमा उहाँले बाटो पहिरोले अवरुद्ध भएकाले नेपाली सेनाको हेलिकप्टर परिचालन गरि घाइतेहरुको उपचारका लागि चिकित्सकहरुको टोली परिचालन गर्न सरकारलाई सचेत गराउनु भयो । नेता रावलले विपद्को यस घडीमा अछाम जिल्लाका पहिरो पीडितलाई राहत र उद्धारको काममा कमी हुन नदिन पनि सरकार गम्भिर हुन आग्रह गर्नुभयो ।

नेता रावलले पहिरोको कारण बाटो अवरुद्ध हुँदा उद्धारका लागि गएका सुरक्षाकर्मीहरु समेत घटनास्थल अझै पुग्न नसकेको उल्लेख गर्दै तत्काल सेनाको हेलिकप्टर परिचालन गर्न पनि सरकारसँग अनुरोध गर्नु भयो ।