
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतले परमादेशबाट संसद पुर्नस्थापना गरेर न्याय गरेको बताउनुभएको छ ।
शनिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालतको परामादेशबाट विघटित संसद पुर्नस्थापना भएकाले अदालतले न्याय गरेको बताउनुभएको हो । उहाँले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीतर्फ इंकित गर्दै सरकार मात्रै होइन संसद पनि परमादेशबाट आएकाले सँगै काम गर्न पाइएको बताउनुभयो । परमादेश नभएको भए सत्तापक्ष र प्रतिपक्ष सँगै बसेर काम गर्न नपाइने भन्दै परमादेशले भेट गर्ने मौका दिएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन सरकारले नागरिकता लगायतका धेरै विधेयक पारित गर्न सफल भएको बताउनुभयो । उहाँले सरकारले बहुपक्षिय तथा द्धिपक्षिय परराष्ट्र सम्बन्धमा पनि सुधार गरेको उल्लेख गर्नुभयो ।
उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन आयोगलाई सरकारको पूर्ण समर्थन हुने पनि बताउनुभयो ।
उहाँले वर्षाका कारण देशभर आएको बाढी, पहिरो र डुबानको नोक्सानी बुझेर सरकारले राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्