
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसदले दोहोर्याएर पारित गरेको नागरिकतासम्बन्धि विधेयकलाई राष्ट्रपतिले प्रमाणिकरण गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।
संघीय संसदको दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकता सम्बन्धि विधेयकले स्वतहः ऐनको रुप लिने दावी गर्दै उहाँले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नु नमिल्ने तर्क समेत गर्नु भयो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रनै धरापमा पर्ने चेतावनी समेत दिनु भयो ।
अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी समेत गर्नु भयो । मधेशी, आदिवासी, जनजातिलगायतका सबै समूदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न प्रतिनिधिसभाले गर्न नसकेको उहाँको गुनासो थियो ।
अध्यक्ष यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिगामी कदम चालेको तर त्यसलाई सत्तारुढ पाँच दलको गठबन्धनले रोक्न सफल भएको पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्