१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागमती प्रदेश सभाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


91
Shares

हेटौंडा । बागमती प्रदेश सभाले आउदै गरेको बडा दशै ,तिहार ,नेपाल सम्वत तथा छठ पुजा अवसरमा शनिबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संघीय संविधान अन्तर्गत प्रदेश सभा तथा प्रदेश सरकार नेपालको लागि नौलो अभ्यास भएको र शून्यबाट सुरु गर्नुपर्ने अवस्थाबाट अगाडि बढ्दा प्रदेश सभाको पाँच बर्षको अवधीमा गरेका प्रदेश सभा र प्रदेश सरकारको कामको समिक्षा गर्दै प्रदेश सभा र प्रदेश सरकारले गम्भीर र जिम्मेवार ढंगले अझ राम्रा काम गर्दै जानु पर्ने औंल्याउनु भएको छ । प्रदेश प्रमुख शर्माले संघीय व्यवस्थालाई जनताको हितमा केन्द्रित गर्नुपर्ने बताउनु भएको छ।

यसैगरी कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीयता बलियो बनाउने काममा प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिस्ठानको लागि जग्गा प्राप्त गरि सो जग्गामा भवन निर्माण गरि शिक्षण अस्पताल संचालन गर्ने, प्रदेश सरकार, प्रदेश सभा, मन्त्री निवास, सभासद निवास, सरकारी कार्यालयको लागि ५५ विगाहा जग्गा प्राप्ति गरि भवन निर्माण सुरु गर्ने काम गरेको बताउनुभयो ।

साथै उहाँले कर्मचारी पदपूर्ति गर्न र वृत्तिविकासको लागि अध्यादेशबाट कानुन ल्याएको, प्रदेशमा रासायनिक मल उद्योग विदेशी सङ्ग छलफल गरि अन्तिम तयारी हुँदै गरेको, यस अघि सवारी चालक अनुमतिपत्रको लागि दुई तिन वर्ष लाग्ने गरिएकोमा हाल १०-१५ दिनमा सवारी चालक अनुमतिपत्र दिने व्यवास्था गरिएको, चेपाङ, बनकरियालाई घर निर्माण गर्ने जस्ता विकासका कामहरुलाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिनुभयो ।

सो अवसरमा पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले शून्यबाट सुरु गर्दै कार्यालय व्यवस्थापन, कर्मचारी व्यवस्थापन, विधेयकहरु निर्माणमा ध्यान केन्द्रित गरि काम गरेको स्मरण गर्नुहुदै प्रदेश सरकारको जग बलियो बनाउने काम भएको बताउनुभयो ।