
एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहीर इकबालको अफेयर लामो समयदेखि चलिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हालै मुम्बईको एक रेष्टुरेन्टमा उनीहरू सँगै डिनर गर्दै गरेको तस्विर सार्वजनिक भएको थियो । जसलाई बलिउड अभिनेता वरुण शर्माले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
यो तस्बिर सेयर गर्दै वरुणले क्याप्सनमा लेखेका छन्, ‘ओए होए, यसलाई भन्छन् ब्लकबस्टर जोडी ।’ यससँगै उनले सोनाक्षी र जहीरलाई पनि यो पोस्टमा ट्याग गरेका छन् । यो तस्बिरमा सोनाक्षी र जहीर एकअर्कालाई हेरेर मुस्कुराउँदै छन् । यस पोस्टमार्फत वरुणले जहीर र सोनाक्षीको प्रेम सम्बन्ध भएको खुलासा गरेका छन् ।
जहीर र सोनाक्षीको मित्रता लामो समय देखि रहँदै आएको छ । दुवैलाई प्रायः सँगै देख्न पनि पाइन्छ । केही समयअघि सोनाक्षीले आफ्नो ब्यूटी ब्राण्ड लन्च गरेकी थिइन्, जसका लागि उनले फोटोसुटमा हिराको औंठी लगाएकी थिइन् । त्यसयता फ्यानहरूले दुवैको इन्गेजमेन्ट भएको अनुमान गर्न थालेका थिए ।
जहीर इकबालले फिल्म ‘नोटबुक’ बाट बलिउडमा आफ्नो करियर सुरु गरेका थिए । सोनाक्षीले सन् २०१० मा आएको फिल्म दबंगबाट आफ्नो करियर सुरू गरिन् । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरू दुबैको पहिलो भेट सलमान खानले गरेका थिए, त्यसपछि उनीहरु दुवैको मित्रता बढेको थियो । यी दुवै आगामी फिल्म ‘डबल एक्सएल’ मा सँगै देखिनेछन् ।
प्रतिक्रिया दिनुहोस्