
-संजिव कार्की
‘बिआरबि’ अर्थात बाबुराम भट्टराई नेपाली राजनीतिका त्यस्ता चर्चित पात्र र प्रवृति हुन् जसको बारेमा सत्तामा हुँदा नहुदा चर्चा गर्ने क्रममा फरक आउँदैन ।चर्चा कै लागि बाबुराम अनेकन फन्डा गर्छन कि बाबुरामलाई चर्चा दिन मिडिया यिनको पछि कुदछन त्यो सुक्ष्म विवेच्य पाटो हो । कथित जनयुद्दको बेलामा होस् या आजको परिवेश बाबुराम चर्चाको अग्रमोर्चामा छन् । माओवादी जनयुद्दमा पढेलेखेका विद्धान बाबुराम आफ्नो पार्टीमा रहेको कारण विद्धान, बुद्दिजीवी र पढेलेखेका मान्छेको कमी हाम्रोमा छैन भनेर तत्कालिन युद्धरत नेता कार्यकर्ता बाबुरामको जय जय गर्थे । बखान गर्थे । पढेलेखेका दुवै श्रीमान् श्रीमती माओबादी आन्दोलनमा हुनुमा गर्वबोध गर्थे । बाबुराम दम्पत्तीको चर्चा र नामको कारण पनि माओवादी आन्दोलन केवल हत्या हिंसा मात्रै होइन त्यहाँ परिवर्तनको चाह र सपना छ भन्ने कुरा प्रतीत हुन्थ्यो । बाबुरामको विद्यावरिधी र एसएलसीको बोर्ड फर्स्ट पोजिसनको खुब विज्ञापन गरेको थियो युद्धरत माओवादीले । अरु प्राज्ञिक र वौद्धिकहरुका लागि आकर्षणको कारण थिए बाबुराम दम्पति ।
विदेशी मिडियादेखि नेतागण समेत प्रचण्ड छन् छैनन् भ्रममा थिए । तर बाबुरामको अस्तित्व भएको कारण माओवादी आन्दोलन हिंसात्मक भएपनि राजनीतिक हिंसा मान्न बाध्य थिए नेताहरु । प्रचण्ड भन्ने मान्छे नै छैनन् भन्दा बाबुराम चै छन् तसर्थ त्यो राजनीतिक आन्दोलन नै हो । हिंसात्मक र अभद्र भए पनि भन्नेमा ढुक्क थिए माओवादी इतर पार्टी र राजा समेत । तर बाबुराम अहिले कम्युनिष्ट आन्दोलनबाट बिमुख छन् र पार्टी फेर्ने फोर्ने, चाहर्ने गर्दै जनता समाजवादीसम्म आइपुगेका छन् । आफ्नै बुताले भने कांग्रेससँग तालमेल गरेर आफू जित्न बाहेक बाबुरामको तत्कालिन नयाँ शक्तिले देशभर टिठलाग्दो मत प्राप्त गर्यो ।
एउटा कम्युनिष्टको रुपमा यतिधेरै नृत्य शायद अरुले पार्टी चाहरेर गर्न सकेका छैनन् । तसर्थ पनि बाबुरामको चर्चा अस्वाभाविक होइन । बोर्ड फर्स्ट भएर चर्चा कमाउन थालेका बाबुराम आज वरियताको रोल कल नम्बर चारसम्म आइपुग्दा पनि चर्चाको घेरा र सीमा बाहिर पुगेका छैनन् । माओवादीलाई रातो स्टिकर लागेको डेन्जर जोनको घर भनेर नयाँ शक्ति निर्माण गरेका बाबुरामको त्यो भविष्यवाणी सावित हुन बाग्मतीमा धेरै वर्ष पानी बग्नु परेन । त्यो सावित पनि भयो तत्कालिन नेकपा माओवादी , माओवादी केन्द्र हुँदै आज नेकपा भएको छ । सैद्दान्तिक विचलनदेखि पार्टी अवसानसम्म बाबुराम र प्रचण्ड दुवै पुगे तर फरक फरक कित्तामा उभिएर । अहिले बाबुराम मधेशवादी गठजोड र जनजाती सम्बद्द पार्टीको लसपसबाट बनेको जनता समाजवादी पार्टीका नेता र त्यसको वरियता नम्बर चारमा छन ।
चर्चा वरियता नम्बर एक या दुईको हुनुपर्ने हो तर चार नम्बरका बाबुरामको छ । चर्चा त्यसैको हुन्छ जसको सम्भावना हुन्छ या सम्भावना अन्त्य भएको मानिन्छ । विपक्षी पार्टी र अरुको नजरमा बाबुराम यतिबेला विचरा बनेको, दल फेर्दा फेर्दा असहाय र निरिह बनेको घटुवामा पर्न बाध्य भएको भनेर खिल्ली उडाएको पाइन्छ । नेपाली राजनीतिको बिडम्बना र दुर्भाग्य यस्तो छ जसले राजनीति पदको लागि होइन भनेर सार्वजनिक नीतिको कुरा बोल्छन तिनै व्यक्ति पार्टी र प्रवृति आज बाबुराम तल्लो वरियतामा बस्दा पनि उपहास गरेर खिसिट्युरी गर्छन । बाबुराम पक्षधर वरियता र मर्यादा कागजमा हो ब्यबहारमा बाबुराम नम्बर वन नै रहेको जिकिर गर्छन ।
बाबुराम किन चार नम्बर मै बस्न राजी छन विचार गर्नुपर्ने, तर्क गर्नुपर्ने र बाबुरामलाई बुझ्नु पर्ने यहीनेर हो । सामान्यतया घटुवा कसैको रुची र चाहको विषय होइन तर बाबुरामको निकट अतित र उनले व्यक्त गरेको चाहना र इच्छालाई हेर्ने हो भने यो बाबुरामको अन्तर्निहित यथार्थ पनि हो भन्ने निष्कर्ष मेरो छ । बाबुराम महन्थ र उपेन्द्रको कार्यकर्ता बन्नुमा अनर्थ छैन । कारण उनी पुनर्निर्माण प्राधिकरणको सीइओ बन्छु, काम गर्न दिनुस भनेर प्रचण्ड केपी र सुशील कोइरालासंग आफ्नो प्रस्ताव गर्ने मान्छे हुन् । यसर्थ पद भन्दा कामको भोक यिनमा छ भन्ने बुझ्न सकिन्छ ।
डाक्टर बाबुराम भट्टराईका थुप्रै कुरा आलोच्य छ्न, होलान् । आफूभन्दा अरुको नेतृत्व स्वीकार नगर्ने नेताहरुको भिडमा प्रधानमन्त्री भै सकेको मान्छे सामान्य हैसियतमा पनि बस्न राजी हुनुलाई सकारात्मक रूपमा किन नलिने । पार्टी जुटदा एक अर्काको नेतृत्व सर्वस्वीकार्य बनाउन नसक्दा दुई अध्यक्षदेखि दुई संयोजक अनि पालैपालो अध्यक्ष जस्ता गलत प्रथा र पद्धति बसालेर भद्रगोल गर्नेहरूको दाँजोमा व्यक्तिगत डिमोसनलाई अन्यथा नमान्ने बाबुरामको उदारता कमजोरी नै सही त्यो नराम्रो होइन । राजनीतिमा नवीन संस्कार र शैली अपनाउने उदघोष गरेर आएका विवेकशील र साझा पार्टीका उज्ज्वल थापा र रवीन्द्र मिश्रले एक अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा एक वर्ष मै पार्टी बिगठनमा पुर्याए ।
महन्थ र उपेन्द्रले बाबुराम झैँ नेतृत्वमा हानाथाप गरेर बराबर हुँ भन्ने दम्भ नत्याग्दा प्रधानमन्त्री भै सकेका बाबुरामले रोलक्रममा चौथो स्थानमा बस्न मन्जुर गर्नुलाई असहज रुपमा लिनु हाम्रो दृष्टि दोष हो । हामी प्रधानमन्त्री भै सकेकाहरु अब फेरि प्रधानमन्त्री बन्नु ठिक छैन भन्ने र सार्वजनिक पदमा बसेका सबैको सम्पत्ति छानबिन गरौं लगायतका बाबुरामका प्रस्ताव प्रसंशायोग्य होइनन् र ? बाबुरामले भुकम्प पुनर्निर्माण प्राधिकरणको हाकिम बन्छु काम गर्न देउ भनेर एक कर्मचारीको हैसियतमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दा यिनलाई सो पद समेत दिन हिम्मत नगर्ने साँगुरो छातीको अघिल्तिर बाबुरामको यो सोच गाली योग्य पक्कै होइन । आफ्नो विषय विज्ञता भूकम्प पुनर्निर्माण प्राधिकरणको हाकिम भएर पनि काम गर्छु भन्नेहरुले बाबुरामलाई पदविहीन भएको र ठुलो भाग खोज्न गएको देख्यो भन्नुमा नैतिक बल र दम छैन ।
पद भन्दा भुमिका र कार्यक्षमता ठूलो हो । आफ्नो पार्टीको नभए पछि अर्काको पार्टीको जतिसुकै राम्रो सोच र धारणा पनि गलत देख्ने दलीय चस्मा लगाएका हाम्रो विवेक धमिराग्रस्त छ । भलै राजनीतिमा बाबुराम आदर्श पात्र बन्न सकेनन् । भएको, बनेको व्यक्तित्व पनि क्षय गर्दैछन । तर पद लोलुपहरुको झुण्डमा बाबुरामको घटेर नै पनि बस्न सक्ने क्षमता तारिफयोग्य छ । भावुक बनेर थर कामी राख्ने बाबुरामको भावनात्मक आग्रहलाई मैंले चित्र फेरेर चरित्र बदलिन सक्तैन भनेर जबाफ अन्यत्र दिई सकेको छु । आज उनको पक्षमा पनि लेखौं भनेर यो विवेचना गर्दैछु । बाबुराम असफल सरकारका सफल अर्थमन्त्री बनेको कुरा सबैले चर्चा गरेका छन । निर्णय गरेपछि कठोर लागे पनि कार्यन्वयन हुन्छ र गर्छन भन्ने उदाहरण काठमाडौँको सडक फराकिलो पार्ने काम र थापाथलीमा सुकुम्बासी उठाउन निर्ममतापूर्वक डोजर चलाएकोले प्रमाणित गरेको छ ।
नेपालस्थित अमेरिकी दुतावासका लगभग सबै (नेपाली) कर्मचारीले अहिले पनि सरकारलाई कर तिर्दैनन । तर भट्टराईले आफ्नो अर्थ मन्त्रीत्वमा तिनलाई करको दायरामा ल्याएको कुरा सामान्य होइन नि ? डाक्टर गोविन्द केसीको पहिलो सत्याग्रहलाई २०५९ असारमा सबैभन्दा कम समयमा जम्मा चार दिनमा टुंग्याएर सरकारी दस्तावेजमा सत्याग्रहको मागलाई दस्ताबेजीकरण गर्ने काम पनि यिनकै पालामा भएको बिर्सन मिल्दैन । तसर्थ तमाम असहमति, अन्योल र यिनका विरोधाभाषपूर्ण शैली र अभिव्यक्तिका बाबजुद पनि बाबुराम नेपाली राजनीतिमा फ्यालिहाल्नु पर्ने, हुत्याइ हाल्नु पर्ने र तिरस्कार गरिहाल्नुपर्ने पात्रमा पर्दैनन् ।
प्रतिक्रिया दिनुहोस्