१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


समानुपातिक उम्मेदवारको सूची बुझाउन असफल


780
Shares

काठमाडौं । प्रमुख राजनीतिक दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि समानुपातिक उम्मेद्वारहरुको बन्द सूची बुझाउन असफल भएका छन् ।

निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची बुझाउन आइतबार र सामेबार सयम तोकेको थियो । उम्मेद्वारको छनोट गर्न नसकेपछि बन्दसूची बुझाउन तोकेको पहिलो दिन आइतबार प्रमुख राजनीतिक दलहरुले उम्मेद्वारको बन्दसूची बुझाउन असफल भए ।

आयोगले तोकेको पहिलो दिन आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई दलले मात्रै प्रतिनिधिसभातर्फको बन्दसूची बुझाएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आइतबार नेपाल समावेशी पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले मात्र प्रतिनिधिसभातर्फको बन्दसूची पश गरेका छन् ।

त्यस्तै, प्रदेशसभाका लागि प्रदेश नम्बर १ किराँत खुम्बुवान साझा पार्टी, बाग्मतीमा तामाङशाली पार्टी र मधेस प्रदेशमा तराई मधेस लोकतान्त्रिक पार्टीले बन्दसूची पश गरेको अर्यालले जानकारी दिनुभयो । मंसिर ४ मा हुने निर्वाचनका लागि आज र भोलि बन्दसूची बुझाउनुपर्ने आयोगले जनाएको छ । प्रमुख दलहरूले भने समानुपातिकको बन्दसुची भोलिमात्रै बुझाउने तयारी गरेका छन् ।

नेकपा एमालेले आज समानुपातिक उम्मेद्वारको बन्द सूची टुंगो लगाएपनि सोमबार मात्रै आयोगमा पेश गर्ने भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरु भने समानुपातिक उम्मेद्वारको सूची टुंगो लगाउन सकेका छैनन् । दलहरुले प्रतिनिधिसभातर्फ ११० र प्रदेश सभातर्फ २२० निर्वाचन क्षेत्रका लागि उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने हुन्छ ।

समानुपातिक तर्फका उम्मेद्वारको बन्द सूची पेश गर्दा संविधानले व्यवस्था गरेको समावेशीताको आधारमा क्लष्टर मिलाएर गर्नुपर्ने छ ।