
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारको गन्तव्य मुलुकको द्रुत र आर्थिक रुपान्तरण रहेको बताउनुभएको छ ।
८ औं संविधान दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले सक्दो प्रयास गरिरहेको पनि बताउनु भयो ।
उहाँले सबैको समन्वयात्मक प्रयासबाट कोभिड–१९ र डेंगु नियन्त्रण गरी मुलुकलाई सामान्य अवस्थामा फर्काउन सफल हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री देउवाले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनले मुलुकमा लोकतान्त्रिक विधि र माध्यमले शान्तिपूर्ण रुपमा शक्तिको हस्तान्तरण सुनिश्चित गर्ने र संविधान चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले आगामी चुनाव निष्पक्ष, स्वतन्त्र, भयरहीत वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले सम्पूर्ण नेपाली जनताको आत्मसम्मान, समृद्धि र एकता नै सरकारको लक्ष्य रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयनलाई गति दिन विभिन्न ऐन, नियम तर्जुमा भई कार्यान्वयनमा आएको बताउनुभयो । उहाँले सुन्दर, समृद्ध राष्ट्र निर्माण गरेर जनतालाई गरिबी, अशिक्षा र पछौटेपनबाट जतिसक्दो चाँडो मुक्ति दिलाएर सबै किसिमका राजनीतिक स्वतन्त्रताबाट समतामुलक समाजको निर्माण गर्न सक्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसद तिमिल्सिना, का.मु प्रधानन्यायाधीश दीपककुमार कार्कीलगायत मन्त्री र सरकारका उच्च पदस्थ अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्