
काठमाडौं । कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठक सकिएको छ ।
करिब २ घण्टा बसेको बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल गरेका नेताहरु दिउँसो पुनः छलफलमा बस्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनका शीर्ष नेतासहित कार्यदलका सदस्यहरु समेत सहभागी थिए ।
निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै सत्ता गठबन्धनमा रहेका दलहरु प्रत्यक्ष तर्फका उम्मेदवार छनोटमा लागेका हुन् ।
अबको एक दुई दिनभित्रै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सिट बाँडफाँट टुंग्याउने गठबन्धनको तयारी रहेको नकेपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको थिएन । गठबन्धनमा प्रतिनिधि सभाको १६५ सिटमध्ये ९० प्रतिशतमा सहमति जुटेपनि अन्य निर्वाचन क्षेत्रका बारेमा दोहोरो र तेहरो दाबी भएकाले भागबण्डामा सकस पर्दै आएको छ ।
दलहरुले सिट भागबण्डा मिलाउँदा प्रतिनिधि र प्रदेश सभा दुवैमा सन्तुलनसहित सहमति गर्ने बताउँदै आएका छन् । तर, दलहरुले दाबी गरेका क्षेत्र तलमाथि गर्न नेताहरु नमान्दा समस्या भइरहेको छ ।
आयोगले प्रत्यक्षतर्फ असोज २३ मा उम्मेदवारी दर्ता गर्ने कार्यतालिका बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्