
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरूसँग आह्वान गर्नुभएको छ ।
उहाँले गरीब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताउनुभएको हो । उहाँले सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताउनुभयो ।
मन्त्री रेग्मीले परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रूपमा अध्ययन गरिरहेको बताउनुभयो । उहाँले गैर सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताउनुभयो ।
मन्त्री रेग्मीले परिषद्बाट राष्ट्रिय आवश्यक्ता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरूप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरूवात गरिएको पनि बताउनुभयो ।
परिषद्की अध्यक्षसमेत रहनुभएकी मन्त्री रेग्मीले सामाजिक संघ, संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिवद्धसमेत रहेको बताउनुभयो ।
मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि सुरू गरेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्