२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिरियाको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ३४ जना शरणार्थीको मृत्यु, २० जीवितै उद्धार


65
Shares

काठमाडौं । लेबनानबाट शरणार्थीहरु लिएर गईरहेको डुंगा सिरियाको समुद्री तटमा दुर्घटना हुँदा दर्जनौंको मृत्यु भएकाे छ ।

साेही दुर्घटनामा ३४ जनाको शव फेला परेको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । साथै जीवितै उद्धार गरिएका २० जनालाई भने उपचारका लागि अस्पताल भर्ना गरिएको छ । गत मंगलबार लेबनानको उत्तरी मिन्ये क्षेत्रबाट लेबनानी, सिरियाली तथा प्यालेस्टाइनी शरणार्थीहरु लिएर गएको डुंगा सिरियाली तटमा पुगेपछि पल्टिएको हो ।

डुंगामा कति जना सवार थिए भन्ने स्पष्ट नभए पनि १ सय ५० जना भन्दा बढी शरणार्थीहरु रहेको अनुमान गरिएको छ । लेबनानको आर्थिक अवस्था नाजुक बनेपछि लेबनानी तथा त्यहाँँ बस्दै आएका शरणार्थीहरु युरोपेली देशतर्फ भाग्ने क्रममा दुर्घटना भएको हो । आर्थिक संकटका कारण लेबनानमा दशौं हजारले रोजगारी गुमाएका छन् ।

साथै लेबनानी पाउण्डको मूल्य ९० प्रतिशतले गिरावट आएको छ । पछिल्ला केही महिना यता दशौं हजार लेबनानी तथा त्यहाँ रहँदै आएका अन्य देशका शरणार्थीहरु युरोप तथा अमेरिकातर्फ भाग्न अनेक उपाय लगाउने गरेका छन् । लेबनानमा १० लाख बढी सिरियाली शरणार्थी मात्रै रहेका छन् ।