
काठमाडौं । अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा कार बम बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । सो विस्फोटमा परेर कम्तिमा ४० जना घाइते भएका छन् ।
शुक्रबारको नियमित प्रार्थनाका क्रममा भएको श्रृंखलावद्ध बम बिस्फोटमा ती व्यक्ति मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
तालिवानी अधिकारीहरुका अनुसार गम्भीर घाइतेहरु धेरै भएकाले मृतकको संख्या अझै बढ्नसक्ने छ ।
सो बिस्फोटका हालसम्म कसैले पनि जिम्मा लिएको छैन ।
आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल माफी टकोरले मस्जिद नजिकै मुख्य सडकमा बिस्फोट भएको र सो घटनाको अनुसन्धान भइरहेको बताउनुभयो ।
नमाज पढेर मस्जिदबाट बाहिर निस्कने क्रममा सो बिस्फोट गराइएको काबुलका प्रहरी अधिकारीहरुले जनाएका छन् ।
काबुलस्थित राष्ट्रसंघीय मिसनले बिस्फोटले अफगानिस्तानमा जारी असुरक्षा र आतंकवादी गतिविधिको तीतो सम्झना भएको जनाएको छ ।
पछिल्ला महिनाहरुमा शुक्रबारको प्रार्थनालाई लक्षित गरी लगातार बिस्फोट हुँदै आएका छन् । तर, ती बिस्फोटका घटना नियन्त्रण गर्न तालिवानी सरकार असफल भएको भन्दै चर्को आलोचना भएको छ ।
सन् २०२० मा वजीर अकबर खान मस्जिदमा भएको बिस्फोटमा परेर मस्जिदका प्रार्थना नेतासहित दुई जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्