३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


देउवा नसच्चिए विद्रोह गर्ने कोइराला पक्षकाे चेतावनी


2.093k
Shares

काठमाडाैं । संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै नेपाली कांग्रेसमा नेता शेखर कोइराला पक्षका नेताले भेला गरेका छन् । भेलालाई उनीहरुले खबरदारी सभाको नाम दिएका छन् ।

कोइराला समूहले गरेको भेलाका सहभागीहरुले सभापति देउवाले प्रतिस्पर्धी समूहलाई टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने बताएका छन् । कार्यक्रममा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायत नेताको उपस्थिति थिएन ।

केन्द्रीय सदस्यहरू प्रकाश स्नेही, अजयबाबु सिवाकोटी र प्रतिमा गौतम सहभागी हुनुहुन्थ्यो । खबरदारी सभामा प्रदेश १ सभापतिका प्रत्यासी नेता गुरुराज घिमिरे, वाग्मती प्रदेश सभापतिका प्रत्यासी नेता जगदीश्वरनरसिंह केसी, कर्णाली प्रदेश सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाही, वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेत, मनोजमणि आचार्यलगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

उहाँहरुले समानुपातिक सूचीमा उम्मेदवार छनोट गर्दा सभापति देउवाले एकलौटी गरेको भन्दै अब प्रत्यक्षतर्फ उम्मेदवार छनोटमा समेत त्यस्तै प्रवृत्ति दोहोर्‍याए विद्रोह गर्ने चेतावनी दिनुभयो । वक्ताहरुले न्यायोचितरुपमा टिकट वितरण, सिट बाँडफाँटमा ४० प्रतिशत दावी गरेका छन् ।

नेता जगदीश्वरनरसिंह केसीले सभापति देउवा आफैंले गरेको प्रतिवद्धताविपरीत पार्टीभित्रका प्रतिस्पर्धीलाई पाखा लगाएर अघि बढ्न चाहेको आरोप लगाउनुभयो ।