६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन


195
Shares

काठमाडाैं । सरकार र अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा. केसीले १३ दिनदेखिको अनशन तोड्नुभएको छ । केसीले बिरामी अमनलाल चौधरीको हातबाट जुस पिएर अनशन तोड्नु भएको हो ।

सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषदमा पेस गर्ने समेत सम्झौता भएको छ । डा. केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन ।

उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा वार्ता टोली बनाएको थियो ।

स्वास्थ्य सचिव रोशन पोखरेल र शिक्षासचिव रामकृष्ण सुवेदी टोलीका सदस्य रहनु भएको थियो । डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा अधिवक्ता ओमप्रकाश अर्याल, डा. लिजन महर्जन र सुवेदी वार्ता टोलीमा सहभागी हुनुहुन्थ्यो ।

विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गर्नुभएको थियो । धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २० औं सत्याग्रह सुरु गरेको चौथो दिनदेखि उहाँको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पताल सल्लाहमा तीनदिन अघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो ।