२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बालविकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थी एउटै काेठामा


338
Shares

सर्लाही । लालबन्दी नगरपालिका–१३ नारायण डाँडामा पर्ने प्राविमा सम्पूर्ण विद्यार्थीलाई एउटै कोठामा राखेर पठनपाठन गराउँदै आएको छ ।

विद्यालयको बालविकासमा पाँच जना, कक्षा एकमा पाँच जना, कक्षा दुईमा १२ जना, कक्षा तीनमा १३ जना, कक्षा चारमा १२ जना र कक्षा पाँचमा १० जना विद्यार्थी भर्ना भएका छन् ।

विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर विश्वकर्माले विद्यार्थी भर्ना संख्या न्यून रहेको बताउनुभयो । विद्यालयमा प्रधानाध्यापक विश्वकर्मा, बालविकासमा कृष्णकुमारी सिञ्जाली, निजी स्रोतमा स्वयंसेवक शिक्षक सुरुची रखाल र कार्यालय सहयोगी ढलककुमारी रखाल कार्यरत हुनुहुन्छ ।

गाउँमा कक्षा ५ सम्म अध्ययन गरेपछि बालबालिकाले माथिल्लो कक्षा पढ्दैनन् । पानी लिन तीन किलोमिटर पर जानुपर्छ । लालबन्दी नगरपालिका–१२ का वडाध्यक्ष शिवकृष्ण वैद्यले नारायण डाँडामा रहेको सो विद्यालयमा विद्यार्थी नै नरहेकाले विद्यालय सञ्चालन गर्नै समस्या रहेको बताउनुभयो ।