२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


कानुन निर्माण गर्ने काममा कमीहरु रहेको सभामुखको स्वीकारोक्ति


91
Shares

काठमाडाैं । सभामुख अग्नि सापकोटाले गुणस्तरीय कानुन निर्माण गर्ने काममा आफ्ना पनि कमीहरु रहेको स्वीकार गर्नुभएको छ । राष्ट्रिय सूचना आयोगले गरेको कार्यक्रममा सभामुख सापकोटाले रचनात्मक र सृजनात्मक ढंगले आफ्नै क्षमताको भरपुर उपयोग गरेर गुणस्तरीय कानुन निर्माण गर्न नसकिएको बताउनु भएको हो ।

उहाँले गुणस्तरीय कानुन निर्माणका लागि आफूले प्रतिनिधिसभाबाट प्रयत्न गरेपनि त्यस अनुसारको वातावरण बन्न नसकेको बताउनुभयो । पछिल्ला दिनहरुमा भने गुणस्तरीय कानुन निर्माणका लागि आफूले बिहान १० बजेबाट सुरु गरिएको बैठक बेलुका १० बजेसम्म संचालन गरेको सभामुख सापकोटाको भनाइ छ ।

उहाँले पछिल्लो बजेट अधिवेशनमा भने ३२ वटा कानुन पारित भएपनि कानुन निर्माणको काममा कमीहरु रहेको उल्लेख गर्नु भयो । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आयोगले पटक पटक सचेत गराउँदा पनि सूचनाको हकसम्बन्धि कानुन संशोधन गर्ने काम नभएको भन्दै गुनासो गर्नु भयो ।

उहाँले सूचनाको हक पालना गर्ने र गराउने सबैभन्दा ठूलो दायित्व सरकार र सार्वजनिक निकायहरुको भएको पनि स्मरण गराउनु भयो । प्रमुख सूचना आयुक्त गुरुङले सूचना लिन पाउने गरी अधिकारीहरुको आवश्यक व्यवस्था मिलाउन पनि सबै सार्वजनिक निकायहरुलाई पुनः सचेत गराउनु भयो ।