
काठमाडौं । निर्वाचन आयोगले आज शनिबार समानुपातिक उम्मेद्वारको बन्दसूची प्रकाशन गर्दैछ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ लागि शनिबार समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूचीको सूचना प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।
आयोगले दलहरुबाट पेस भएबमोजिम संशोधित बन्दसूचीमा कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा असोज १७ गते समय दिई सोबारे सम्बन्धित दललाई जानकारी दिइसकेको छ ।
यही असोज २० गतेदेखि शनिबार दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिएको कारणबाट रिक्त हुने स्थानमा सोही समूहले अर्को उम्मेदवारको मनोनयन गरी सम्बन्धित राजनीतिक दलले आयोगमा पेस गर्ने निर्वाचन कार्यक्रम रहेको छ ।
शनिबार नै दिउँसो ३ देखि ५ बजेसम्म सूची प्रकाशन गरिने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्