८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेतामा परिवार मोह, पति प्रत्यक्ष र पत्नी समानुपातिक उम्मेदवार


1.378k
Shares

काठमाडौं । आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा विगतमा जस्तै यो पटक पनि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका नेताहरुमा नै परिवारबाद हाबी भएको छ । सत्ता गठबन्धनका कारण बरिष्ठ भनिने नेताहरुले समेत उम्मेदवार बन्न नपाईरहेको अवस्थामा केन्द्रीय नेतृत्वले नै आफ्नै श्रीमती, छोरी, बुहारीलाई नै उम्मेदवार बनाएका छन् ।

पति पति नै उम्मेदवार बन्ने सूचीको प्रथम स्थानमा प्रधानमन्त्री एंव कांग्रेस सभापती शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु देउवा हुनुहुन्छ । प्रधानमन्त्री देउवा प्रतिनिधि सभाको लागि डडेलधुराबाट उम्मेदवार बन्नुभएको छ भने पत्नी आरजु राणा डडेलधुराबाट समानुपातिक सूचीमा हुनुहुन्छ । २०७४ को चुनावमा कैलाली ५ मा आर व्यहोर्नुपरेकी राणाले यस पटक समानुपातिक सुचिमा आफ्नो नाम सुरक्षित गर्नुभएको छ ।

यस्तै, रुपनदेही ३ बाट उम्मेदवारी दिनुभएका गृहमन्त्री बालकृष्ण खाँड पत्नी मञ्जु खाँड पनि समानुपातिक सुचिमा हुनुहुन्छ । यसैगरी दाम्पतिनै उम्मेदवार हुने अर्को जोडी हुन वर्षमान पुन र ओन्सरी घर्ती मगर । नेकपा माओवादी केनद्रका उपमहासचिव वर्षमान पुनले रोल्पाक २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ भने उहाँकी पत्नी ओनसरी घर्ती मगर काठमाडौं २ बाट उम्मेदवार बन्नुभएको छ ।

यसैगरी रौतहट २ मा बाबु उम्मेदवार बन्न नमिल्ने भएपछि छोरालाई उम्मेदवार बनाईएको छ । जेल जीवन बिताईरहेका मोहम्मद अफ्ताब आलम सर्वसम्मतले सिफारिस भएपनि विरासत धान्दै उनका छोरा फीरदोस आलमलाई उम्मेदवार बनाएको छ । यस्तै, आगामी निर्वाचनमा नउठ्ने घोषणा गरेका डा. बाबुराम भट्टराईकी छोरी मानुषी भट्टराईले पनि काठमाण्डौ ७ बाट उम्मेदवारी दिनुभएको छ ।

यस्तै, नेकपा एमालेबाट समानुपातिक उम्मेदवारको सूचीमा १ नम्बरमा रहेको नाम हो मेनका कुमारी पोखरेल । उहाँ प्रतिनिधिसभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दर्ता गर्ने एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुनुहुन्छ । यस्तै, गोरखा पुगेर उम्मेदवारी दर्ता गराउनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालकी बुहारी वीना मगर कञ्चनपुर १ को उम्मेदवार हुनुहुन्छ । दाहालकै कान्छो ज्वाईं जीवन आचार्य मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यासी हुनुहुन्छ ।

पूर्व गृहमन्त्री समेत रहेका राम बहादुर थापाले उम्मेदवारी दर्ता नगरे पनि उहाँकी पत्नी नैनकला थापाले भने समानुपातिक सुचीमा आफ्रनो नाम सुरक्षित गर्नुभएको छ । दिवंगत कांग्रेस नेता खुमबहादुर खडकाका पुत्र अनुराग खडकालाई प्रदेश उम्मेदवारी सुरक्षित गरिएको छ ।

यसअघिको २०७४ को चुनावमा प्रधानमन्त्री देउवासहित १८ दम्पत्ति उम्मेदवार बनेका थिए । पूर्व गृहमन्त्री शक्ति बस्नेत र उहाँकी पत्नी सत्या पहाडी, देव गुरुङकी जोडी यशोदा सुवेदी, हीतमान शाक्य र अमृता थापा मगर लगायतसँगै चुनावी मैदानमा हुनुहुनथ्यो ।

दुई पटकको संविधानसभा निर्वाचन र त्यसपछि एक पटकको संसदीय निर्वाचन गरी राष्ट्रियस्तरका तीन निर्वाचनमा पहुँचवालाको बाहुल्य देखिएको छ । व्यवस्था गलत कि व्यक्ति ? यस विषयमा धेरै माथापच्ची चल्ने गरेको छ । नेताहरुको बलमिच्याईं, विधिमाथिको आक्रमणको शिकार व्यवस्था हुने गरेको पुनरावृत्ति यो चुनावमा पनि देखिएको छ ।