
एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ, अभिनेता इशान खट्टर र सिद्धान्त चतुर्वेदी अभिनित हरर कमेडी चलचित्र ‘फोन भूत’ को ट्रेलर सार्वजनिक भएको छ ।
यस चलचित्रमा कट्रिना भूतको भूमिका निर्वाह गर्दै देखिएकी छन् । अभिनेता ज्याकी श्राफ पनि उक्त चलचित्रमा नकारात्मक भूमिकामा देखिएका छन् । गुरमीत सिंहको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलरलाई सबैले मन पराएको समाचारमा उल्लेख छ ।
भारतीय सञ्चार माध्यमका अनुसार ट्रेलरले हालसम्म राम्रो प्रतिक्रिया पाएको छ । यस चलचित्रमा कट्रिना यस्तो भूत बनेकी छिन्, जसले आत्मालाई मोक्ष दिलाउने काम गर्छिन् । जसका लागि उनले इशान खट्टर र सिद्धान्त चतुर्वेदीको सहयोग लिन्छिन् । चलचित्रमा इशान र सिद्धान्तमा भूत देख्न सक्ने शक्ति भएको देखाइएको छ ।
उता ‘आत्माराम’ बनेका ज्याकीले चलचित्रमा कट्रिना, इशान र सिद्धान्तलाई कडा प्रतिस्पर्धा दिनेछन् । चलचित्र आगामी नोभेम्बर ४ देखि रिलिज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्