७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पहिरोले घर पुर्दा चार जनाको मृत्यु


13
Shares

हुम्ला । पहिरोले घर पुर्दा हुम्लामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको छन् । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा चंखेली गाउँपालिका–६ का मानवीर बिकको घर पहिरोले पुरेको हो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार मृत्यु हुनेमा ६० वर्षीया तुलसी विक, १२ वर्षीया हैजा बिक, ९ वर्षीया सुस्मिता विक, ७ वर्षीया बसन्त विक छन् । ५ जना घाइतेको मेलसाय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रदेश प्रहरीले जनाएको छ ।

यस्तै मुगुको छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका हुन् । उद्दारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । मुगुमा बिगत ५ दिनदेखि परिरहेको अबिरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो गएको प्रहरीले जनाएको छ । उता कालिकोटमा खोलाले बगाउँदा प्रहरी जवान पदम रावत नदीमा बगेर बेपत्ता भएका छन् ।

प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान रावत खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा बगेका थिए । सेरावाडा खोलाले बगाएका रावत नदीमा पुगेर बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।