
काठमाडौं । महजोडी अर्थात कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अभिनित चलचित्र ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ ।
सोमबार सार्वजनिक ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलरले दुई पुस्ताको प्रेमको मर्मस्पर्शी कथा प्रस्तुत गरेको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रको ट्रेलरमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोह समावेस भएको छ ।
श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि पारिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथाबस्तु बनेको छ ।
चलचित्रमा महजोडीसँगै रविन्द्र सिंह बानियाँ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार लगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ आगामी कात्तिक ११ गते अर्थात भाईटिकाको भोलिपल्ट देखि प्रदर्शन गरिने भएको छ ।
यस चलचित्रका निर्माता दिपेश खत्री हुन् भने कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ रहेका छन्।
प्रतिक्रिया दिनुहोस्