
काठमाडौं । नेकपा (एमाले) डडेल्धुराले नेपाली कांग्रेस (बिपी) सँगको चुनावी तालमेल भंग गरेको छ ।
सहमतिविपरीत बिपी कांग्रेसले डडेल्धुराको प्रदेश निर्वाचन क्षेत्र २ मा आफ्ना उम्मेदवारलाई नभई स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको भन्दै एमालेले चुनावी तालमेल भंग गरेको हो ।
एमाले जिल्ला अध्यक्ष प्रकाशबहादुर साउँद र सचिव गजेन्द्र शाहीले जारी गरेको विज्ञप्तिमा एमाले एकल रूपमा चुनावमा जाने उल्लेख छ ।
यसअघि बिपी कांग्रेससँग तालमेल गर्नकै लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएका चक्रप्रसाद स्नेहीको उम्मेदवारी फिर्ता गराएका थिए ।
डडेल्धुरामा प्रतिनिधि सभातर्फ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्