१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नवौं राष्ट्रिय खेलकुद : पहिलो दिन दुई वटा राष्ट्रिय कीर्तिमान


364
Shares

पाेखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सतर्फ पहिलो दिन दुई वटा राष्ट्रिय कीर्तिमान बनेका छन् । कुल ३७ मध्ये ७ इभेन्ट्समा पदक छिनोफानो भएको दिन महिला तथा पुरुष एक सय मिटरमा नयाँ कीर्तिमान बने ।

पुरुषतर्फ सशस्त्र प्रहरी बलका शिवचन्द्र पार्कीले १० दशमलव ५६ सेकेन्डको प्रदर्शनका साथ स्वर्ण पदक जित्दा आर्मीका युवराज बिक १० दशमलव ५८ सेकेण्डको समयसहित रजत पदक तथा आर्मीकै डिल्ली भण्डारीले १० दशमलव ७० सेकेण्डको सयमसहित कास्य पदक हात पारे । पार्कीले रामकृष्ण चौधरीको नाममा रहेको २३ वर्ष पुरानो १० दशमलव ७१ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।

एथ्लेटिक्सकै महिला सय मिटर दौडमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले नयाँ कीर्तिमान बनाइन् । चौधरीले १२ दशमलव १३ सेकेन्डमा दौड पूरा गरिन् । दोस्रो स्थान लिएकी लुम्बिनी प्रदेशकी निशा चौधरीले कास्य दिक जित्दा आर्मीकी रमिता थारु कांस्य पदकमा सिमित भइन् ।

महिला १० हजार मिटरमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डको टाइमिङका साथ स्वर्ण जित्न सफल भइन् । यो स्पर्धामा नेपाल पुलिस क्लबकी राजपुरा पछाई दोस्रो हुँदा एपिएफकी पुष्पा भण्डारीले कास्य पदक हात पारिन्।

आजै भएको पुरुष १५ सय मिटर दौडमा आर्मी क्लबका मुकेश पालले ३ मिनेट ५२ दशमलव २१ सेकेन्डको समय निकाल्दै प्रथम भए । सो इभेन्ट्समा एपिएफका अजित यादव दोस्रो तथा पुलिसका नागेश्वर अहिर तेस्रो भए । महिला १५ सय मिटर दौडमा एपिएफकी फुलमती राना ४ मिनेट ३८ दमलव १९ सेकेन्डको टाइमिङका साथ स्वर्ण पदक जित्न सफल भइन् । आर्मी क्लबकी सरस्वती भट्टराई दोस्रो हुँदा आर्मीकै रेखा लिम्बु तेस्रो भइन् ।

सटपुटतर्फ पुरुषमा आर्मीका तिलक बिकले १२ दमलव ८५ मिटर फाल्दै स्वर्ण पदक जित्दा आर्मीकै चित्रबहादुर वलीले रजत तथा बागमती प्रदेशका ललित रावतले कांस्य पदक जिते । सटपुटकै महिलातर्फ नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादे १२ दशमलव ४० मिटर फाल्दै प्रथम हुँदा लुम्बिनी प्रदेशकी संगिता अधिकारी दोस्रो तथा पुलिसकी वषन्ती चौधरी तेस्रो भइन् ।