६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गठबन्धनले चुनाव जितेमात्रै देशले लय समात्छः डा.महत


221
Shares

काठमाडाैँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको सरकारले नै देशमा आत्मनिर्भरता स्थापित गर्नसक्ने दाबी गर्नुभएको छ ।

शनिवार बाम लोकतान्त्रिक गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस रामेछाप जिल्ला काठमाडौं सम्पर्क समन्वय समितिको संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रवक्ता महतले गठबन्धन सरकारले नै देशमा पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने बताउनु भयो । उहाँले शमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात र खपत बढाउने, परनिर्भरतालाई समाप्त गर्ने, विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर गर्नेकाम गठबन्धनबाट नै सम्भव रहेको बताउनु भयो ।

उहाँले देशमा समृद्धिको विकल्प नरहेको भन्दै नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुपर्ने पहिलो आवश्यक्ता भएको जिकिर गर्नुभयो । प्रवक्ता महतले रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गरी समृद्धिका लागि लगानी बढाउन, लगानीको लागि लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक भएको बताउनु भयो । उहाँले आगामी निर्वाचन गठबन्धनले जितेमात्रै देशले लय समात्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमा अब समृद्धिको विकल्प छैन । नेपाली युवाहरु देशभित्रै रोजगारी प्राप्त गर्ने अवसर सिर्जना गर्नुछ । रोजगारीको लागि वैदेशिक निर्भरताको अन्त्य गर्नुछ । त्यसका लागि समृद्धि आवश्यक छ । समृद्धिका लागि लगानी आवश्यक छ । लगानीको लागि लगानीमैत्री वातावरण आवश्यक छ । सुशासन, स्थायित्व आवश्यक छ । त्यसका लागि गठबन्धनको बाटोमा हामी छौँ । यसले लय पनि समातेको छ । गठबन्धनमा रहेर हामीले निर्वाचन जित्यौँ भने, देशले लय समात्छ । देशमा विद्युत उत्पादनलाई व्यापक वृद्धि गरी निर्यात गर्ने काममा लाग्नेछौँ । अब परनिर्भरतालाई समाप्त गर्ने हो । अब हामी पर्यावरणमैत्री अर्थतन्त्रलाई अघि बढाउने हो । त्यसको लागि अब विद्युतमा आधारित ट्रान्सपोटेशन सिस्टम सञ्चालन गरी पेट्रोलियम पदार्थको आयात घटाउने, देशभित्रै उद्योग व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धन देशभर नै गर्न आवश्यक छ ।’

प्रवक्ता महतले संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन बनेको जिकिर गर्दै पार्टीको केन्द्रिय नेतृत्वको नारा संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हुन आवश्यक भएको बताउनु भयो । उहाँले नेपालमा शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण नरहेको बताउनु भयो ।

उहाँले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती रहेको बताउनु भयो । उहाँले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारीताले देश अस्थिरतातिर धकेलिएको आरोप लगाउनु भयो । प्रवक्ता महतले गठबन्धनको मुल लक्ष्य प्रतिगमनको दिशामा देशलाई लैजाने प्रयासलाई रोक्न र संविधानको रक्षाका लागि गठबन्धन निर्माण भएको दाबी गर्नुभयो ।

उहाँले गठबन्धनको सहयोगमा नै कोभिड १९ को समस्या समाधान र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलन गरेको दाबी गर्नुभयो । उहाँले अध्यक्ष ओलीकै नेतृत्व रहेको खण्डमा देशमा भयरहीत वातावरणमा स्थानीय तहको निर्वाचन हुन नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको केन्द्रिय नेतृत्वको संयन्त्रले नारा पनि तय गरिसकेको छ, त्यो नारामा यहाँ सुधार गर्नुपर्नेछ । त्यो भनेको संविधानको रक्षा, स्थायित्व र समृद्धिको लागि गठबन्धन हो । शान्तिको नारा अहिलेको लागि महत्वपूर्ण छैन । शान्ति स्थापित भइसकेको छ । अहिले संविधानको रक्षा, जुन ठूलो संघर्षपश्चात दुईदुई पटकको संविधान सभामार्फत संविधान हामीले बनाएका छौँ, यो समावेशी संविधान छ, लोकतान्त्रिक संविधान छ । संघीय संरचना र स्थानीय निकायहरुलाई अधिकार सम्पन्न गरिएको छ । अब हामीले मन, वचन र कर्मले संविधानमा भएको भावना, मर्मलाई कार्यान्वयन गर्ने चुनौती हामीसँग छ । किन यो गठबन्धन बन्यो ? यसका उत्तरका लागि हामी पृष्ठभूमीमा जान जरुरी छ । ओलीजीको नेतृत्वमा सरकार थियो । त्यसबेला माओवादी एमाले गठबन्धनसहित एकीकरण भयो । तर ओलीजीले जसरी देशको सत्ता, शासन चलाउन खोज्नुभयो । सम्पूर्ण अधिकारलाई केन्द्रिकरण, व्यक्तिकरण गर्ने, स्वतन्त्र, संवैधानिक निकायलाई आफूअनुकुल चलाउन बाध्य गराउने र कुशासनयुक्त शासन चलाउनु भयो । स्वेच्छाचारी तरिकाबाट चलाउन कोशिस गर्नुभयो । त्यसको कारण नयाँ ध्रुवीकरण भयो ।’

उहाँले जनता समाजवादी पार्टी गठबन्धनबाट बाहिरिएर स्वार्थकेन्द्रित भएको आरोपसमेत लगाउनु भयो । उहाँले ओलीको नेतृत्वमा देशको नेपालको परराष्ट्रनीति अल्मलिएको भन्दै अबका दिनमा नेपालको स्वार्थ केन्द्रितमा हुने बताउनु भयो । प्रवक्ता महतले नेकपा एमाले अध्यक्ष ओलीले जतिसुकै फण्डा गरेपनि गठबन्धनको जित सुनिश्चित रहेको दाबीसमेत गर्नुभयो ।