
काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही–२ मा उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज बुधबार पेसी तोकिएको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।
बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरेको थियो । जसको विरुद्धमा गुरुङले सर्वोच्चमा हालेको रिटमाथि बुधबार सुनुवाइ हुन लागेको हो ।
गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही–२ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगन अल्पकालीन आदेश जारी गरेको थियो । सोही रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न बुधबार न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको छ ।
बुधबारको सुनुवाइपछि अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा इजलासबाट आदेश हुनेछ । गुरुङको उम्मेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो ।
उहाँले निर्वाचन आयोगमा उम्मेदवारी बदरविरुद्ध उजुरी पनि गर्नुभएको थियो । आयोगले बदरको निर्णय सदर गरेपछि उहाँ आयोग विरुद्ध रिट लिएर सर्वोच्चमा पुग्नुभएको हो ।
गुरुङलाई २०७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।
प्रतिक्रिया दिनुहोस्