
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आज पुनः ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुने गरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो ।
सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे । दोस्रो पटक थपिएको समय पनि सकिएपछि मंगलबार अदालतमा उपस्थित गराउनुपर्नेमा सार्वजनिक बिदाका कारण बुधबार अदालतमा उपस्थित गराइएको हो ।
अदालतले बुधबार पुनः ४ दिनको म्याद थप गरी अनुसन्धान गर्न नेपाल प्रहरीलाई अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमवार अदालतमा उपस्थित गराएको थियो ।
अनुसन्धानका लागि प्रहरीले ७ दिनको समय माग गरेपनि अदालतले ४ दिनको समय उपलब्ध गराएको हो । १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
प्रतिक्रिया दिनुहोस्