१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपमहानगरपालिकाले तीर्थयात्राका लागि ज्येष्ठ नागरिकलाई पठायाे मुक्तिनाथ


455
Shares

काठमाडाैं । धनगढी उपमहानगरपालिकाले १२२ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्राका लागि मुस्ताङको मुक्तिनाथ पठाएको छ । नगरका सबै १९ वटै वडाबाट छानिएका एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथमा तीर्थ गर्न पठाइएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

ज्येष्ठ नागरिकलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना र वडाध्यक्षहरुले संयुक्त रुपमा खादा र टीकासहित बिदाइ गर्नुभएको हो । नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रमअनुसार तीर्थयात्रामा पठाएको जानकारी दिनुभयो ।

नगर प्रमुख हमालका अनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले ज्येष्ठ नागरिक छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।

उपमहानगरपालिकामा सेवा गरी चालु आर्थिक वर्षभित्र अवकाश प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि उपमहानगरपालिकाको स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको छ ।