
चन्द्र कटुवाल
कुनै पनि औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधिलाई प्राकृतिक चिकित्सा भनिन्छ । यो प्रभावकारी र हानिरहित विधि हो । “रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै सर्वोत्तम उपाय हो ।” यो नै प्राकृतिक चिकित्साको मूलमन्त्र हो । जग हो । रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । मानव स्वास्थ्य प्राकृतिक रुपमै बलियो, निरोगी र तन्दुरुस्त हुनु पहिलो सर्त हो ।
प्राकृतिक चिकित्सा एक रचनात्मक उपचार गर्ने विधि हो जसको उद्देश्य प्रकृतिमा स्वतन्त्र रुपमा उपलब्ध तत्वहरूको प्रयोगको माध्यमबाट रोगहरूको मुख्य कारण हटाउनु हो । प्राकृतिक चिकित्साले मुख्यत शरीर भित्र रहेको महत्वपूर्ण उपचारात्मक शक्तिको अस्तित्वलाई मान्यता दिन्छ । रोग प्रतिरोधात्मक शक्तिलाई बढवा दिन काम गर्छ । प्राकृतिक चिकित्साले भन्छ कि – शरीरले आफैं रोग निको गर्छ । तसर्थ प्राकृतिक चिकित्साले शरीर भित्र रहेका डिफेन्स प्रक्रिया हरु जस्तै प्रतिरक्षा प्रणाली सन्तुलनमा राख्नेमा जोड दिन्छ । यसरी नै एउटा स्वस्थ शरीरको रचना हुन्छ । यो मात्र एक रोगसँग लड्ने सुरक्षा कवच हो । मानव शरीर तबसम्म स्वस्थ रहन्छ जबसम्म यी प्रतिरक्षा प्रणालीहरु सन्तुलित रहन्छन् । यिनिहरुको गडबडीसँगै मानिसहरु विभिन्न रोगको शिकार हुन पुग्छन् ।
प्राकृतिक चिकित्सा एक विज्ञानमा आधारित परम्परा हो । जसले प्रत्येक बिरामीको अनौठो पक्ष पहिचान गरेर स्वस्थतालाई बढावा दिन्छ र त्यसपछि उसको शारीरिक, मनोवैज्ञानिक, अध्यात्मिक र संरचनात्मक सन्तुलन पुनस्र्थापना गर्न गैर विषाक्त प्राकृतिक उपचारहरू प्रयोग गर्दछ । प्राकृतिक चिकित्सकहरूले तनाव घटाउने र आहार र जीवनशैलीमा परिवर्तन ल्याएर विरामी हुनबाट रोक्ने लक्ष्य राखेका छन् ।
यसमा योग र व्यायाम थेरापी, एक्यूपंक्चर, हर्बल मेडिसिन, हाइड्रोथेरापी, डाईट र उपवास, माटो थेरापी, रङ्ग र चुम्बकीय थेरापी, मसाज थेरापी लगायत आधुनिक विधिहरूको प्रयोग जस्ता जैव अनुनाद, ओजोन थेरापी र कोलोन जस्ता स्वीकृत प्राकृतिक उपचार अभ्यासहरू सामेल छन् । यो स्वास्थ्य प्रवर्धन, रोग निवारणका लागि निकै उपयोगी मानिन्छ ।
१. शरीरले रोगहरु आफै ठिक पार्छ : रोगहरु शरीरले आफै ठिक पार्ने हो । यदि रोग ठिक पार्न तिर लागियो भने त्यो प्राकृतिक चिकित्सा मानिदैन । केवल वातावरणमात्र तयार पार्ने हो । शरीरमा बाह्य भन्दा आन्तरिक वातावरण वलियो हुनु पर्दछ ।
२. रोग एक उपचार एक : शरीरमा बिजातीय तत्वहरु बढी भएमा रोग लाग्छ । बिजातीय तत्व भन्नाले शारीरिक मानसिक तथा भावनात्मक जुनसुकै पनि हुन सक्छ । जुन शरीरको कम्जोर भागमा जम्मा हुन्छ र रोग लाग्छ । जस्तै मृगौला, मुटु आदिमा जम्मा हुन सक्छ । यि बिजातिय तत्वलाई बाहिर निकाल्नु पर्दछ । र प्रत्यक कोषलाई क्याल्सियम चाहिन्छ ।“आरोग्यं भाष्करा दिक्षित”अर्थात सूर्यले आरोग्यता प्रदान गर्दछ । त्यसैले सूर्यको तापबाट भिटामिन डि प्राप्त गर्न सकिन्छ ।
३. रोगमुक्त रहन प्राकृतिक नियमको पालना : यदि हामीले हाम्रा व्यवहारहरु प्रकृतिको अनुकुलन हुने गरी गर्यौ भने रोग लाग्दैन । रोगको कारण भनेको हाम्रो अप्राकृतिक व्यवहारले गर्दा नै उत्पन्न भएको हो ।
४. रोगको मुख्य तत्वको पहिचान गरी कारक तत्वको उपचार गर्नु पर्दछ : भनिन्छ दवाईले दवाउने काम गर्छ । त्यसैले प्राकृतिक चिकित्साले रोगको जरो पत्ता लगाई उपचार गर्नु पर्दछ भन्छ ।
५. रोगको मात्र नभई रोगीको पनि उपचार : यदि व्यक्तिको शरीर र मन दुबै स्वस्थ भएन भने रोगको उपचार गरेर मात्र हुदैन । त्यसैले रोगको साथै व्यक्तिको पनि उपचार गर्नु पर्दछ ।
६. चिकित्सकले शिक्षकको भूमिका निर्वाह गर्ने : चिकित्सक एउटा शिक्षक पनि हो । चिकित्सकले शिक्षकको भूमिका निर्वाह गर्नु पर्दछ । जस्तो कि कसरी खाने ? के खाने? हाम्रो शरीरलाई योगको महत्व के छ ? जस्ता कुराहरुको बुझ्ने गरी सिकाउनु पर्दछ । त्यसैले हाम्रो शरीरले रोग आफै ठिक पार्दछ । हामीले त केवल वातावरण तयार पारिदिने हो ।
प्रतिक्रिया दिनुहोस्