८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


सुनसरीमा कालीगढलाई पाला बनाउन भ्याई-नभ्याई


65
Shares

काठमाडौं । तिहार लागेसँगै सुनसरीको इनरुवामा रहेका कालीगढहरुलाई माटोको पाला बनाउन भ्याई-नभ्याई भएको छ ।

चाडपर्वका बेला माटोको पाला बिक्री बढी हुने भएकाले उनीहरुलाई बनाउन भ्याई-नभ्याई भएको हो । इनरुवा, लौकही र हरिपुर लगायतका स्थानमा रहेका कालीगढहरुलाई चाडपर्व लागेसँगै माटोको भाँडा बनाउन भ्याई-नभ्याई भएको हो । उनीहरुले दीपावली-छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाडाकुडा बनाउने र बिक्री गर्ने काम गरेका छन् ।

समयमै माटो ल्याउन नसक्दा पाला बनाउन ढिलो भएकोे स्थानीय देवनारायण पण्डितले गुनासो गरेका छन् । नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यताले हतारमा काम गर्नु परेको उनीहरुको भनाइ छ ।

पछिल्लो समय माटोको कारोबारमा वृद्धि भएपनि बजारमा आएका प्लास्टिक र विद्युतका सामग्रीले समस्या थपिएको उनीहरुले बताएका छन् ।