
काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
नागरिक समाज कास्कीका नाममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता दौरान लाखौं रुपैयाँ हिनामिना भएको दाबी गर्दै आवश्यक छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी गरेको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका विभिन्न जिल्लामा असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगिताको भद्रगोल व्यवस्थापन र आर्थिक अनियमितताको विषय सार्वजनिक रुपमा उठ्न थालेको छ ।
नवौं राष्ट्रिय खेलकुदका क्रममा घाइते खेलाडीलाई स्वास्थ्य उपचार सुविधा उपलब्ध नगराएको, प्याराग्लाइडिङ खेल सञ्चालनका लागि नागरिक उड्यन प्राधिकरणसँग स्वीकृति नलिएको, प्रचलित कानुन विपरित अतिसबाजी गरिएको र खेल आयोजना पूर्व खेलकुद पूर्वाधार निर्माण तथा खेल मैदानको स्तरोन्नतिको नाममा भएको खर्च विवरण छानविन गर्न माग गरिएको छ ।
समाजको तर्फबाट संयोजक रामबहादुर पौडेल र प्रवक्ता गोकुलबहादुर कार्कीले अख्तियारमा उजुरी दर्ता गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्