१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आगामी मंसिर ४ गते हुने निर्वाचन भयरहित हुने : प्रधानमन्त्री देउवा


39
Shares

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको छ ।

भक्तपुरमा बुधबार नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भयरहित हुने बताउनुभएको हो ।

निर्वाचनलाई सरकारले स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाईसकेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह समेत गर्नुभयो ।

प्रधानमन्त्री देउवाले नागरिकप्रति प्रतिबद्ध भएर काम गर्न सके देशको आर्थिक असमानता र विपन्नता हटाउन सकिने बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्न रूपमा जोडिएको भन्दै यसको जगेर्ना गर्नुपर्ने आवश्यकता समेत औल्याउनुभयो ।

नेपाल संवतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल संवतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

नेपालमा अझैपनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरूको ठूलो संख्या रहेको बताउँदै प्रधानमन्त्री देउवाले गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिक स्तर वृद्धि गरी जनतालाई सुखी र स्वतन्त्र तुल्याउन सरकार लागिपरेको बताउनुभयो ।

सबै प्रतिबद्ध भएर काम गर्नसके मुलुकबाट गरिबी,आर्थिक असमानता, विपन्नतालाई हटाउन सकिने उहाँको विश्वास छ । नेपाल संवतका प्रवर्तक मानिने शंखधर साख्वाले वि.सं ९३६ मा एक समाजसेवीको रूपमा आफ्नो समुदायका किसानहरूलाई ऋणबाट मुक्त गराएका गराउनुभएको थियो ।

हालको काठमाडौं र भक्तपुरका जनताहरूको ऋणमुक्त गराएको खुसियालीमा साख्वाले नेपाल संवतको थालनी गरेको बताइन्छ । शंखधर साख्वालाई नेपाल सरकारले २०५६ मंसिर ३ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।