९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


छठ पर्वकाे तयारी धुमधामका साथ हुँदै


39
Shares

काठमाडाैं । केही वर्षअघिसम्म तराईमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत भव्यतासाथ मनाउन थालिएको छ ।

काठमाडौंमा हुने छठ महोत्सवमा राष्ट्रप्रमुख र सरकार प्रमुख उपस्थित भएर राज्यले नै यसको महिमालाई थप प्रोत्साहित गरेको छ । छठ पर्वका अवसरमा नेपालभर सार्वजनिक बिदा दिइन्छ ।

दसैँ र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी परिवारको सुख–शान्तिको कामना गरिन्छ । पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातमा सामाचकेवा लोकगीत गाएर यो पर्वको थालनी हुन्छ ।

काठमाडौंका नदी तलाउ छठ पूजाका लागि बेहुली झैं सिंगारिएका छन् । कमलपोखरी, गौरीघाट, थापाथली, टेकू घाटमा पूजाका लागि भव्य सजावट गरिएको छ ।

कमलपोखरीमा बनाइएको पूजास्थलमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि सरकारी अधिकारीहरु सहभागी हुनुहुनेछ । आयोजकहरु पूजाको सम्पूर्ण तयारी पूरा भएको बताउँछन् ।

यस पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा खाने, खुवाउने चलन छ । परम्परानुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।

भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

अग्नि पुराणमा छठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेका बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन धार्मिक ग्रन्थमा पाइन्छ ।

त्रेता युगमा लङ्काबाट श्री राम सीता माता फर्किंदा सीता माता गङ्गा नदीको किनारमा छठ व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई ठूलो छठ भनिन्छ ।

चैतको षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व मनाइन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ ।

विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने विश्वास गरिन्छ ।

तराईबाट पहाडमा ख्याती आर्जन गरेको यो पर्व अहिले सांस्कृतिक दृष्टिले तराई पहाड जोड्ने सेतू बनेको छ ।