१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सन्दीप लामिछानेविरुद्धकाे बलात्कार मुद्दामा अदालतमा बयान सुरु


4.823k
Shares

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दामा आज काडमाडौं जिल्ला अदालतले बयान लिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि न्यायाधीश माधवप्रसाद घिमिरेको इलासमा आजबाट सुनुवाई सुरु भएको हो ।

बलात्कार आरोपमा सरकारी वकिलको कार्यालयले लामिछानेलाई १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाण पेस गरेको छ । जसमध्ये सिसिटिभी फुटेजलाई प्रमुख प्रमाण मानेको छ ।

प्रहरीले काठमाडौंमा भदौ ५ गते राति बसेको होटलबाट १२ वटा भिडिओ संकलन गरेको छ । कार्यालयले त्यसको पेनड्राइभ अदालतमा पेस गरेको छ । दोस्रो प्रमाणको रूपमा अदालतले घटनास्थल मानिएको उक्त होटलबाट संकलन गरेको सन्दीप लामिछानेको गेष्ट रेजिस्ट्रर कार्ड पनि बुझाएको छ ।

प्रहरीले जाहेरीमा पेस भएको एउटा तस्बिरलाई पनि प्रमाणको रूपमा पेस गरेको छ । काठमाडौंको होटलमा बलात्कार हुनुअघि उनीहरू नगरकोटको एक रिसोर्टमा पुगेका थिए ।

उक्त रिसोर्टमा खाजा खाएर तिरेको सन्दीपको नामको बिलको भरपाइ पनि प्रमाणको रूपमा पेस गरिएको छ । पीडित युवती र सन्दीप लामिछाने दुवै जनाको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई वटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेस गरिएको छ ।