८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चर्चित भारतीय गायक स्व. बप्पी लाहिरीको गीत चीनमा भाइरल


11.518k
Shares

एजेन्सी । चर्चित भारतीय गायक स्व. बप्पी लाहिरीको सन् १९८२ मा गाएको गीत ‘जिम्मी जिम्मी आजा आजा’ अहिले चीनमा निकै भाइरल भइरहेको छ ।

चीनमा पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमितलाई मध्यनजर गर्दै फेरि लकडाउन लगाइएको छ । लकडाउनलाई लिएर जनताले फरक ढंगले सरकारको विरोध गरिरहेका छन् । गायक बप्पीको सन् १९८२ मा आएको गीत ‘जिम्मी जिम्मी आजा आजा’ अहिले चीनमा निकै भाइरल भइरहेको हो ।

यो गीत हिन्दीमा नभई मन्डारिन भाषामा अनुवाद गरिएको हो, जुन ‘जी मी, जी मी’ चीनमा भाइरल भइरहेको छ । यसको अर्थ मलाई चामल देऊ, चामल देऊ । भन्ने रहेको छ ।

सामाजिक सञ्जालमा चिनियाँहरूले उक्त गीतमा टिकटक बनाइरहेका छन् । उनीहरू खाली भाँडा देखाएर बनाइएको यो गीतको भिडियो र रिल बनाउँदैछन् । लकडाउनका कारण उनीहरूसँग खानेकुरा बाँकी नभएको, खाली भाँडा देखाउन चाहन्छन् र यसरी जनताले सरकारप्रति आक्रोश पोखेका छन् ।

गत महिना राष्ट्रपति सी जिनपिङले चीनमा कोरोनाको अवस्थालाई ध्यानमा राख्दै लकडाउन लागू गर्ने आदेश दिएका थिए । त्यसपछि त्यहाँ नाकाबन्दी लगाइएको थियो । जिनपिङले लकडाउनमा कुनै पनि छुट नदिइने बताएका थिए । अहिले चीनको प्राय सबै कारखानाहरू बन्द गरिएको छ ।