१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आम निर्वाचनमा सुरक्षा बाहेक झण्डै साढे दुई लाख जनशक्ति परिचालन हुने


26
Shares

काठमाडौं । आगामी मंसीर ४ मा हुने आम निर्वाचनमा सुरक्षाकर्मी बाहेक २ लाख ४६ हजार जनशक्ति परिचालित हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा अन्य गरी उक्त जनशक्ति परिचालन हुने भएको हो ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदको सिफारिसमा जिल्ला अदालतका न्यायाधीश र निर्वाचन अधिकृतका लागि न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका राप द्वितीय श्रेणीका कर्मचारीलाई खटाउने गरिएको छ ।

२ सय ५० सम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १–१ जनासहित ९ जना, २ सय ५१ देखि ५ सयसम्म मतदाता भएका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत १–१ जनासहित ११ जना कर्मचारी रहनेछन् । पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा थप १ जना स्वयंसेवक रहनेछन् ।

मतदान केन्द्रका लागि आवश्यक पर्ने अन्य निर्वाचन सामग्रीको चेकजाँच, रुजु, भण्डारण, बाँडफाँट तथा वितरण गर्ने प्रयोजनको लागि निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारीबाट अपुग हुने देखिएमा निर्वाचन अधिकृतले बढीमा ५ दिनका लागि थप जनशक्ति काजमा ल्याई कार्यसम्पादन गर्न सक्नेछन् ।

आयोगले मौजुदा जनशक्तिबाट निर्वाचन सम्बन्धी काम समयमा सम्पन्न गर्न नसकिने भएमा निर्वाचन कार्यालयले निर्वाचनको मिति घोषणा भएपछि बढीमा २ महिनाका लागि कर्मचारी काजमा लिन सक्ने जनाएको छ ।