
काठमाडौं । छोरीलाई जन्म दिएपछि अभिनेत्री श्वेता खड्काले आफू सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने मौका पाएको बताएकी छन् ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा छोरीको तस्वीर सार्वजनिक गर्दै उनले आफू भाग्यमानी नारी रहेको बताएकी हुन् । साथै उनले आफूले जीवनको सबैभन्दा ठूलो अवार्ड पाएको समेत बताएकी छन् ।
श्वेताले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो खुशी व्यक्त गर्दै छोरीको जन्मलाई सबैभन्दा अमूल्य प्राप्ति र बहुमूल्य सम्पत्ति भनेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘आजबाट मैले संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’ बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु । यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो , सबैभन्दा अमूल्य प्राप्ती अनि बहुमुल्य सम्पत्ती ।’
श्वेताले लामो अन्तराल पश्चात् आफ्नो जीवनमा खुशीको अर्को अध्याय थपिएको बताएकी छन् । उनी लेख्छिन्, ‘मेरो जीवनमा खुसीको अर्को अध्याय थपिएको छ । खुशीको अर्को रङ्ग पोतिएको छ अनि आशाको अर्को दिप झुल्किएको छ । मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अवोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ ।’
यसैबीच, उनले प्रशव अवस्थामा स्वास्थ्यको कामना गरेर आफूप्रति सहानुभूति जनाउने आफन्त, परिवार र शुभचिन्तकलाई आभार प्रकट गर्दै श्रीमान् विजयन्द्र सिंह रावतप्रति माया दर्शाएकी छन् ।
श्वेताले मंगलबार दिउँसो पहिलो सन्तानको रुपमा छोरीलाई काठमाडौंको जमलस्थित ग्रान्डी सिटी अस्पतालमा जन्म दिएकी हुन् । पछिल्लो समय फिल्मभन्दा व्यापार-व्यवसायमा उनी सक्रिय रहेकी छन् ।
प्रतिक्रिया दिनुहोस्