
ताप्लेजुङ । ताप्लेजुङका किसानलाई यति बेला अलैंची थन्क्याउन भ्याइनभ्याइ छ । चाडबाड सकिएसँगै अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।
असोजदेखि मंसिर महिना अलैंची थक्याउने मुख्य समय हो । ताप्लेजुङका किसानले अलैंचीलाई प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएका हुन् ।
बेंसी क्षेत्रमा साउन महिनादेखि लेकाली क्षेत्रमा मंसिर तेस्रो सातासम्म अलैंची टिप्ने गरिन्छ । अलैंची थन्क्याउने मुख्य मौसम भएकाले किसानलाई चटारो हुने गरेको हो ।
अलैँची संकलन गर्ने समय भएपछि केही समय मात्र ढिलो गरेमा वन्यजन्तुले खाएर क्षति पुर्याइदिने हुँदा किसानलाई चटारो हुने गर्दछ । मुख्य सिजन भएकाले चाडपर्वमा पनि अलैंची बगानमै बिताउनुपरेको मादिबुङका अलैंची किसान बसन्त लिम्बूले बताउनुभयो ।
जिल्लाका नौ स्थानीय तहका ६१ वटा वडामध्ये फत्ताङ्लुङ गाउँपालिका ओलाङ्चुङगोला बाहेक सबै वडामा अलैंची खेती हुने गरेको छ । जिल्लामा करिब चार हजार चार सय ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्