
काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई हराएको छ ।
अष्ट्रेलियाको एड्लेडमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डी.एल पद्धतिको आधारमा ५ रनले हराएको हो ।
जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनायो ।
भारतले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको बंगलादेशले व्याटिङ गरिरहँदा वर्षा भएपछि खेल अवरुद्ध भयो । यसपछि बंगलादेशलाई १६ ओभरमा १ सय ५१ रनको नयाँ लक्ष्य दिइयो । तर बंगलादेशले निर्धारित १६ ओभरमा १ सय ४५ रन मात्र बनाउन सकेपछि भारत ५ रनले विजयी भएको हो ।
बंगलादेशका लिटोन दासले ६०, नुरुल हसनले २५, नाजमुल होसेनले २१, कप्तान शकिब अल हसनले १३ तथा तास्किन अहमेदले अविजित १२ रन बनाए ।
भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २र२ तथा मोहमद शामीले १ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले अविजित ६४, केएल राहुलले ५० तथा सूर्यकुमार यादवले ३० रन बनाए ।
बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए ।
जारी प्रतियोगितामा भारतको यो तेस्रो जित हो । जितसँगै ४ खेलबाट ६ अंक जोडेको भारतले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो पारेको छ ।
भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेश ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
बुधबार नै भएको अर्को खेलमा नेदरल्याण्ड्ससँग ५ विकेटले पराजित भएको जिम्बाबे भने सुपर १२ चरणबाट बाहिरिने निश्चित भएको छ ।
टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार हुने एकमात्रै खेलमा पाकिस्तान र दक्षिण अफ्रिका भिडनेछन् । सुपर १२ बाट सेमिफाइनलमा पुग्ने सम्भावना जिवित राख्न पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया दिनुहोस्