
विराटनगर । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।
पाँच बर्ष अघि मोरङको पथरीशनिश्चरेमा तत्कालीन प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश १ को एक मात्र जैविक मल उद्योग घाटामा गएका कारण बन्द हुने अवस्थामा पुगेको हो ।
तीन करोड ५० लाख रुपैयाँको लागतमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहले एक बिघा जमिन भाडामा लिएर उद्योग सञ्चालन गरेका थिए । तर, उद्योगबाट उत्पादित मलले प्रदेशमै बजार नपाउँदा उद्योग घाटामा गएको हो ।
प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ । सरकारले विदेशबाट रासायनिक मल खरिद गर्नुको सट्टा जैविक मलको प्रयोग गरे विदेश पुग्ने अर्बौ रुपैयाँ रोकिने उद्योगका सञ्चालक कृष्णचन्द्र महर्जनले बताउनुभयो ।
उद्योगले मल बनाउन धानको ढुटो, प्रेसमड, चिउरीको पिना, तोरीको पिना, हड्डीको धुलो र कृषि चुनको प्रयोग गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्