
काठमाडौं । विश्वकप फुटबल आयोजक मुलुक कतारको आलोचना बढेपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहभागि देशहरुलाई पत्र काटेको छ ।
फिफाले विश्वकपमा भाग लिने सबै ३२ टोलीलाई पत्र काट्दै ‘फुटबलमा ध्यान केन्द्रित गर्ने’ समय आएको बताएको छ ।
नोभेम्बर २० अर्थात यहि मंसिर ४ गतेबाट कतारमा सुरू हुने विश्वकप फुटबल प्रतियोगिता विवादमा परेको छ । समलिङ्गी सम्बन्ध, मानवअधिकारको अवस्था र आप्रवासी कामदारमाथिको व्यवहारका कारण कतारको आलोचना भइरहेको छ । केही खेलाडीहरूले शान्तिपूर्ण विरोधको योजना समेत बनाएका छन् ।
विश्वकप फुटबलमा विभिन्न प्रकारका राजनीतिक स्वार्थ हावी हुने जोखिम बढेपछि फिफाले सहभागि देशहरुलाई पत्र काटेको हो । फिफा अध्यक्ष जियानी इन्फान्टिनो र महासचिव फात्मा समौराले हस्ताक्षर गरेको पत्रमा ‘अब फुटबलमा ध्यान केन्द्रित गर्न’ देशहरूलाई आह्वान गरिएको छ ।
फिफा विश्वकपका लागि कतारले सातवटा नयाँ रंगशालाका साथै विमानस्थल, सडक र करिब एक सयवटा होटल निर्माण गरेको छ । कतार सरकारले रंगशाला निर्माणका लागि मात्रै ३० हजार विदेशी कामदारहरू काममा लगाइएको बताएको छ, जसमध्ये अधिकांश बंगलादेश, भारत, नेपाल र फिलिपिन्सबाट कतार पुगेका छन् ।
मानवअधिकारवादी समूहहरूले कतारमा विदेशी कामदारको उपचार र त्यहाँ मृत्यु हुनेको संख्याबारे गुनासो गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्