१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुनसरीमा सञ्चारमन्त्री कार्कीलाई सकस


1.378k
Shares

काठमाडाैं । ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको सुनसरी जिल्लामा यसपटक सबै भन्दा बढी चासोका रुपमा निर्वाचन क्षेत्र नम्बर –४ लाई हेरिएको छ ।

निर्वाचन क्षेत्र नम्बर –४ मा मंसिर ४ गते हुन लागेको निर्वाचनमा दुई नेताको चुनावी भिडन्तले समग्र जिल्लाकै ध्यान खिचेको हो । सो क्षेत्रबाट बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा कांग्रेसबाट सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा हुनुहुन्छ । अघिल्लो निर्वाचनमा भोजपुरबाट सुनसरी झरेर विजयी बन्नुभएका कार्कीले सुनसरी ४ बाट पुनः आफ्नो उम्मेदवारी दोहोर्‍याउनु भएको छ । कार्कीका प्रतिस्पर्धी नेकपा एमालेबाट जगदीश कुसियत हुनुहुन्छ । कुसियत स्थानीय नेता हुनुहुन्छ ।

२०७४ को निर्वाचनमा जितेर गएपछि सो क्षेत्रका जनताकोमा कार्की फर्किएर नजानु भएको र काठमाडौं केन्द्रित बन्नु भएको स्थानीयको गुनासो छ । सो क्षेत्रका आम मतदाताहरु मन्त्री कार्कीको गत चुनावपछिका कामबाट सन्तुष्ट छैनन् । यसकारण पनि कार्कीलाई आसन्न निर्वाचनमा सहज नदेखिएको स्थानीयहरु बताउँछन् । उता स्थानीय जनताका माझ भिजेका स्थानीय नेता कुसियत कार्कीका प्रतिस्पर्धी बनेपछि कार्कीका लागि विगत जस्तो त्यति सहज नभएको कांग्रेसकै कार्यकर्ताहरु बताउँछन् । एमाले नेता जगदीश कुसियैत स्थानीय नेता हुनुहुन्छ जो कार्कीका प्रतिष्पर्धी बन्नुभएको छ ।

अघिल्लो पटक एमालेले कमजोर प्रतिद्वन्दी दिएकाले कार्कीका लागि जित सहज देखिएको कांग्रेस नेता, कार्यकर्ताहरुको भनाइ छ । यस पटक भने स्थानीय उम्मेदवार उठाएको एमाले र उसको जसपासँगको तालमेलले मन्त्री कार्कीका लागि आसन्न निर्वाचन चुनौती देखिएको छ । १ लाख २८ हजार ६५ जना मतदाता रहेको सुनसरी –४ मा कोशी गाउँपालिकाका सबै वडा, बराहक्षेत्र नगरपालिकाको ६,७,८,९,१० र ११ सहित रामधुनीको ४ नम्बर वडा पर्दछ ।

त्यसैगरी इनरुवाको ३,४ र ८ नम्बर वडा पर्छन् भने भोक्राहा गाउँपालिकाको सबै वडा र हरिनगरको १,२,४,५,६ र ७ नम्बर पर्छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा स्वतन्त्र उम्मेदवार डाक्टर खालिद हुसेनले ल्याउने मत कार्की र कुसियत दुवैका लागि निर्णायक सावित हुने चर्चा हुनेछ । जसकारण समेत आम मतदाताले मंसिर ४ गतेको निर्वाचन रोचक हुने आँकलन गरेका छन् ।

यद्यपी, मतदाता माझ पार्टीगत धारणा उम्मेद्वार अनुकुल देखिएपनि पाँच वर्षे अवधिमा भएका विकास निर्माणप्रति उनीहरु खासै सन्तुष्ट भने छैनन् । स्थानीयहरु भन्छन्, हात्तीको समस्या ठूलो छ, गत निर्वाचनमा समस्या समाधान गर्ने आश्वासन दिए तर काम भएन । निर्वाचन जितेपछि एकपटक पनि यहाँको समस्या समाधानका लागि नेताहरु आएनन् । उक्त क्षेत्रमा कोशीको मुआब्जा, आशातित विकास निर्माण नहुनु, सञ्चारमन्त्रीको क्षेत्रमा टेलिफोन नेटवर्क समस्याको समाधान नहुनुले जनता निराश मात्रै छैनन्, कार्कीसँग आक्रोशित पनि छन् ।

सो निर्वाचन क्षेत्रका स्थानीयहरुले संचारकर्मीसँग कुराकानी गर्दै नेताहरुबिरुद्ध आक्रोश पोखेका छन् । त्यसका अलावा जंगली जनावर नियन्त्रणकालागि ठोस योजना सञ्चालनमा ल्याउन नसक्नु, बाचा अनुसारको काम हुन नसकेको र पार्टीका सिमित व्यक्ति काखी च्यापेर हिँड्ने गरेको भनेर नेता उपर लाग्ने गरेको ट्याग यस पटकको मत परिणामकालागि निर्णायक बन्नसक्ने आँकलन धेरैको छ ।

जसलाई यस पटक सो क्षेत्रका मतदाताले आफ्नो बलियो मुद्दा बनाएको सहजै अनुमान लगाउन सकिन्छ । यता सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की भने आसन्न मंसिर ४ गते सम्पन्न हुने निर्वाचनले देशमा जनताका समृद्धि र विकासको आकांक्षालाई कार्यतालिकाको आधारमा अघि बढाउने समयको प्रारम्भ गर्ने बताउनुहुन्छ । मन्त्री कार्की आसन्न निर्वाचनका लागि आफूले उम्मेदवारी दिएको सुनसरी ४ मा मतदातासँग मत माग्नका घरदैलो कार्यक्रममा ब्यस्त हुनुहुन्छ ।

यद्यपी, सुनसरी ४ मा कार्की र कुसियत दुवै हेभिवेट उम्मेदवार भएकाले मतदाता रिझाउन प्रयासरत छन्। दुवै नेताले प्रतिष्पर्धीको तुलानामा आफूलाई अब्बल देखाउन आफ्नो उम्मेदवारी उपर जितको आधारसहितको विवरण खोलिरहनुभएको छ । निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचार र घरदैलो बढाउँदै लगेका छन् । मतदाता माझ खासै नदेखिएको उत्साह र नेताका आश्वासन मात्रले आजित भएका जनताले कसलाई मत दिएर जिताउने हुन् त्यो भने मंसिर ४ को निर्वाचनले नै तय गर्नेछ ।