
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
आज पोखरामा आयोजित कार्यक्रममा उहाँले आगामी निर्वाचनमा कांग्रेसभन्दा धेरै ठूलो पार्टी बन्ने बताउनु भयो । उहाँले एमालेले एकल बहुमत ल्याए पनि अहिले तालमेल गरेका दलहरुलाई भने सरकारमा सामेल गराउने बताउनु भयो ।
सत्ता गठबन्धनले आफूलाई संविधान मास्न खोजेको आरोप लगाए पनि अदालतबाट सरकार बनाउने आदेश ल्याएर उनीहरूले नै संविधानमाथि प्रहार गरेको ओलीको भनाइ थियो । उहाँले अदालतले परमादेशमार्फत प्रधानमन्त्री नियुक्त गरेर असंवैधानिक कार्य गरेको भन्दै आगामी निर्वाचनले अदालतको उक्त गल्ती सच्याउने काम गर्ने बताउनु भयो ।
दुई दुई पटकको संसद विघटन गलत कदम भएको स्वीकार गर्दै उहाँले विघटन गर्दा संविधानको कुनै धारा नकुल्चिएको जिकिर गर्नुभयो । तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालका कारण ताजा जनादेशमा जानुपरेको उहाँको भनाइ थियो ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनभित्र कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच प्रधानमन्त्रीको विषयलाई लिएर संघर्ष सुरु भइसकेकाले निर्वाचनको परिणामसँगै गठबन्धन टुट्ने दावी गर्नुभयो । उहाँले गठबन्धनलाई अबको प्रधानमन्त्री को हो खुलाउन चुनौति समेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्