१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्री कप : मधेस प्रदेश र बागमती प्रदेशबीचको खेल टाई, कर्णाली प्रदेशलाई ५ विकेट हार्‍याे


156
Shares

काठमाडाैं । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मधेस प्रदेश र बागमती प्रदेशबीचको खेल टाई हुँदा अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा भएको समूह चरणको अन्तिम खेलमा बागमती प्रदेशले मधेस प्रदेशबाट पाएको १ सय ९० रनको लक्ष्य ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाउँदा खेल बराबरीमा सकिएको हो ।

यससँगै जारी प्रतियोगितामा दोस्रो खेल टाई भएको छ । यसअघि एपीएफ र गण्डकी प्रदेशबीच खेल पनि टाई भएको थियो । मधेसले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा बागमतीका पृथु बास्कोटले सर्वाधिक ४० रनको पारी खेल्दा ओपनरद्वय रित गौतम र इसान पाण्डेले क्रमश ३२ र ३१ रनको पारी खेलेका थिए ।

यस्तै सूर्य तामाङले २८ रनको व्यक्तिगत स्कोर गर्दा विवेक मगरले २५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बलिङतर्फ मधेसका राजेश यादव र प्रदीप पासवानले समान ३/३ विकेट निकाल्दा रुपेश सिंहले २ तथा हरिशंकर शाहले १ विकेट हात पारे ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रनको योगफल तयार पारेको थियो । मधेसका लागि रोहन विकले अर्धशतकीय पारी खेले । ९४ बलको सामना गरेका रोहनले ६ चौका र २ छक्काको सहयोगमा ६३ रनको व्यक्तिगत पारी खेलेका थिए ।

उनका अलावा ओपनर सन्तोष कार्कीले २३ रनको योगदान गर्दा राजेश यादवले १६, कप्तान हरिशंकर शाहले १३ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् । बलिङतर्फ वागमती प्रदेशका नन्दन यादव र सूर्य तामाङले समान ३÷३ विकेट हात पार्दा प्रतिश जिसी र रामनरेश गिरिले समान २/२ विकेट आफ्नो नाममा लेखाए । खेलमा मधेस प्रदेशका राजेश यादव प्लेयर्स अफ दि म्याच घोषित भए ।

आजै भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि ५ विकेटको जित निकालेको हो । यससँगै सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । मुलपानी क्रिकेट मैदानमा कर्णालीले प्रश्तुत गरेको १ सय ५१ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव ४ ओभरमा मात्र ५ विकेटको क्षतिमा भेट्टायो ।

सुदूरपश्चिमका ओपनर गजेन्द्र बोहोराले ४१ र टेक रावलले १८ रन जोडे । गजेन्द्रले ५१ बला ५ चौका र १ छक्का प्रहार गर्दा टेकले ३० बलमा ३ चौका प्रहार गरे । गजेन्द्र र टेकले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । त्यस्तै शेर मल्लले ३३ बलमा ३ चौकामद्दतमा अविजित ३४ रन जोडे भने राजु रिजालले २९ बलमा ४ चौका र १ छक्का मद्दतमा अविजित २४ रन जोडे । कर्णालीका रविन्द्र शाहीले ३ र दिवान पुनले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३८.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन बनाउन सक्यो । कर्णालीका अर्जुन घर्तीले ९६ बलमा ४ चौका र ५ छक्का मद्दतमा ७० रन जोडे । त्यस्तै सुवास ऐयरले २२ बलमा ५ चौका मद्दतमा २४ रन जोडे । सुदूरपश्चिमका नारायण जोशीले ४, हेमन्त धामीले ३ र गजेन्द्रले २ विकेट लिए ।

यस सँगै सुदूरपश्चिमले समूह ए मा ४ खेलबाट २ अंक जोडेको छ । सुदूरपश्चिम चौथो स्थानमा छ । कर्णालीले भने अंक खाता खोल्न सकेको छैन । प्रतियोगितामा मंगलबार पनि दुई खेल हुनेछन् । कीर्तिपुरमा हुने खेलमा मधेस प्रदेश र नेपाल पुलिस क्लव तथा मूलपानी मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेशबीच खेल हुनेछ ।