
काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनको मतदान सम्पन्न भएको छ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सबै ४३५ सिट र माथिल्लो सदन सिनेटको सय मध्ये ३५ सिटका लागि मंगलबार निर्वाचन भएको हो ।
जर्जिया, इंडियाना, केन्टकी, साउथ क्यारोलाइना, भर्मन्ट, भर्जिनिया लगायतका राज्यहरुमा मतदान सकिएको छ । रिपब्लिकनहरूले यो निर्वाचनबाट अर्को दुई वर्षका लागि राष्ट्रपति जो बाइडेनको एजेन्डा रोक्न र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउस फर्कने बाटो खुला गर्ने दाबी गरिरहेका छन् ।
प्रतिनिधि सभा र सिनेट दुवै सदनको लागि चार करोडभन्दा बढी मतदाताहरूले देशभर पूर्व–निर्वाचन मतदान गरिसकेका छन् । जो बाइडेनले रिपब्लिकनको बहुमतले लोकतन्त्रमा असर पर्ने चेतावनी दिइरहँदा मत सर्वेक्षणले भने महँगीलाई देखाएर रिपब्लिकन पार्टीले सिट बढाउने प्रक्षेपण गरेका छन् ।
रिपब्लिकनहरूले बाइडेनको विधायिकी एजेन्डालाई विफल पार्न भरमजदुर प्रयास गर्नेछन् । साथै उनीहरुले विभिन्न ससंदीय छानबिन सुरु गर्ने अपेक्षा गरिएको छ । अफगानिस्तानबाट भद्रगोलपूर्ण सेना फिर्ती र राष्ट्रपतिका छोरा हन्टर बाइडेनको चीन र युक्रेनका व्यापारिक सम्झौताहरू अनुसन्धानका केही विषय हुनसक्ने आँकलन गरिएको छ ।
तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याए जनवरी ६ मा क्यापिटल हिलमा भएको आक्रमणको छानबिनलाई पनि गम्भीर असर गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्