१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधनलाई अनुमति नचाहिने

'सार्वजनिक यातायात भने चलाउन बन्देज'

598
Shares

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सवारी अनुमतिपत्र आवश्यक नपर्ने भएको छ ।

निर्वाचन आयोगले अत्यावश्यक क्षेत्रका लागि सवारी साधन प्रयोग गर्न सवारी अनुमति पत्र लिन नपर्नेगरी सहज आवागमन व्यवस्था गरेको हो ।

आयोगका अनुसार एम्बुलेन्स, शववाहन, दमकलका लागि सवारी अनुगमन पत्र आवश्यक पर्ने छैन । खानेपानीका ट्यांकर, फोहोरमैला तथा दूधका गाडी, परिचयपत्र बोक्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा ती प्रयोजनामा प्रयोग हुने सवारी साधनलाई पनि अनुमतिपत्र आवश्यक पर्ने छैन ।

यस्तै, दूरसञ्चार तथा केबल सेवामा प्रयोग हुने सवारी साधन, आयोगबाट जारी परिचयपत्र बाहक पर्यवेक्षक, अवलोकनकर्ता, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन, तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधनका लागि पनि अनुमतिपत्र आवश्यक पर्ने छैन । प्रेसका लागि पनि सवारी अनुमति पत्र आवश्यक नपर्ने जनाइएको छ ।

आयोगका अनुसार सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालय वा प्रदेश सरकार माहतहत सञ्चार प्राधिकरण वा अन्य त्यस्तै प्रकृतिको नियामक निकायबाट जारी प्रेस पास वा प्रचलित कानुन बमोजिम दर्ता र प्रेस काउन्सिलमा सूचीकृत भई सञ्चालनमा रहेका सञ्चारगृहबाट जारी परिचय पत्रबाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधनका लागि पनि अनुमति पत्र आवश्यक पर्ने छैन । मतदानका दिन कुनै पनि सार्वजनिक यातायातका साधन भने चलाउन पाइने छैन ।