
व्यवसायी एवं राजनीतिकर्मी उमेश श्रेष्ठ आसन्न मंसिर ४ को आम निर्वाचनमा नेपाली काँग्रेससहितको वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवारका रुपमा चितवन क्षेत्र नम्बर – २ बाट उम्मेदवार हुनुहुन्छ । उहाँलाई नेकपा एमालेका कृष्ण भक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछिानेले चुनौती दिनु भएको छ । एसएलसी उत्तीर्ण गरेपछि भोजपुरस्थित घरबाट दुई हजार रुपैयाँ बोकेर उच्च शिक्षाका लागि काठमाडौं छिर्नु भएका श्रेष्ठले सामान्य परिवारमा जन्मेर आफ्नै बलबुताले व्यवसायिक क्षेत्रमा मुलुककै अब्बल संस्थाहरू निर्माण गरी आफ्नो पहिचान स्थापित गर्नुभएको छ । उहाँले स्थापना गरेका विभिन्न शैक्षिक र व्यवसायिक संस्थाबाट विपन्न, सीमान्तकृत, जेहेन्दार र फरक एवं विशिष्ट क्षमता भएका सयौं विद्यार्थीले छात्रवृत्तिमा पढेका छन् र आज उनीहरू विभिन्न क्षेत्रमा अब्बल भएर काम गरिरहेका छन् । सम्पूर्ण व्यवसाय छोडेर पूर्ण रुपमा राजनीति समाज सेवामा सक्रिय हुनुभएका श्रेष्ठसँग आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको सेरोफेरोमा केन्द्रित रहेर ईमेज खबरले गरेको कुराकानीको सम्पादित अंश :
निर्वाचनको मिति नजिकिदै छ, तपाइँको चुनावी अभियान कसरी चलिरहेको छ त ?
चुनावी अभियानमा हामी गठबन्धन दलका साझा उम्मेदवारहरूले घरदैलो, कोणसभा, र्याली तथा आमसभाहरू आयोजना गरिरहेका छौं । आफ्ना एजेन्डाहरू र संकल्प जनतालाई बताइरहेका छौं । नेपाली कांग्रेसको नेतृत्वमा शान्ति र संविधान सम्भव भयो । अब नेपाली कांग्रेसले मुलुकलाई विकास र समृद्धि दिन चाहान्छ र यो नेपाली कांग्रेसकै नेतृत्वमा मात्र सम्भव छ । हाम्रो दृष्टिकोण र लक्ष्य स्पष्ट छ । हामी लामो इतिहास बोकेका र तीन पुस्तादेखि जनताका लागि काम गर्दै आइरहेका छौं । हिजो देखिहाल्नुभयो, दुई तिहाई बहुमतको सरकार हुँदा मुलुकलाई जनताको चाहना अनुरूप आर्थिक विकास र समृद्धितर्फ लैजानुपर्नेमा किचलो, भ्रष्टाचार र कुशासनले मुलुकलाई अस्तव्यस्त बनाउने, शान्ति प्रक्रिया र संविधानलाई समेत उल्ट्याएर मुलुकलाई अन्तहीन अस्थिरतातर्फ धकेल्ने काम भयो । हाम्रा सन्ततिहरुका लागि, आगामी पुस्ताका लागि मुलुकलाई शान्ति, स्थिरता र विकास हासिल गर्ने वातावरण निर्माण गर्नका लागि जनताले अघिल्लो निर्वाचनमा दिएको मतलाई अपमान गर्ने काम भयो । जनताका माझ त्यो स्पष्टसँग अभिलेखित छ र यस निर्वाचनमा जनताले लोकतन्त्र, शान्ति, संविधान, स्थिरता र विकासका लागि मतदान गर्दै हुनुहुन्छ भनेर निर्वाचन प्रचारप्रसारका क्रममा हामीले आम जनताबाट प्रतिक्रिया पाएका छौं ।

आफ्नो जीतमा कतिको ढुक्क हुनुहुन्छ ? चितवनका जनताले तपाइँलाई किन भोट दिने ?
म चितवनकै बासिन्दा हो । चितवनको विकास र समृद्धिका लागि मैले मेरो ज्ञान, सीप र अनुभव र प्रभावलाई उपयोग गर्नेछु । लामो करिअरमा म कहिले पनि अविचलित छैन । आफ्नो मेहनत र बलबुताले विकास र समृद्धिका योगदान गर्न सकिन्छ भनेर लागिरहेको छु । नेपालमा गरिबी निवारण गर्न, आर्थिक क्रियाकलापका अवसर सिर्जना गर्न, दक्ष जनशक्ति विकासका लागि काम गरिरहेको छु । लगाव, निरन्तरता, अनुभव, परिपक्वताले म चितवनका लागि धेरै काम गर्न सक्छु । म खुला किताब जस्तै छु । जे जति गरें, आफ्नै मुलुकका लागि, यहीं बसेर काम गरें । अवसरवाद, मौकापरस्ती र जनताको भावनामा खेलेर, अरुलाई गालीगलौज गरेर होइन, भित्र एउटा र बाहिर अर्को रूप देखाएर भ्रम छरेर होइन, काम गरेर जनताको मन जित्न सकिन्छ भन्ने मलाई लाग्छ । मसँग प्रतिस्पर्धा गरिरहनुभएका अन्य उम्मेदवारहरु पनि हुनुहुन्छ । कसलाई जिताउने भन्ने जनताको फैसला अन्तिम हुन्छ । कतिपय साथीहरू रातो मुख पारेर मलाई गाली गर्न व्यस्त हुनुहुन्छ । अरुलाई गाली गरेर आफ्नो स्थिति सुदृढ हुन्छ भन्ने मलाई लाग्दैन । जनता नै सर्वेसर्वा हुनुहुन्छ, उहाँहरूलाई थाहा छ कसलाई मत दिनुपर्छ भनेर त्यसकारण सबै साथीहरूलाई भन्छु– कृपया रातो मुख नलगाउनुहोस् । अरुको आङको जुम्रा देखाएर आफ्नो आङको भैंसीलाई अन्देखा नगर्नुस् । जनतालाई थाहा छ नि, कुन उम्मेदवार कस्तो छ । को प्रमाणित छ, अविराम काम गर्छ । त्यो सबै जनताले बुझ्नुभएकै छ । जनताको बुझाइ र विवेकपूर्ण मताधिकार नै म निर्वाचित हुने आधार हुन् ।

तपाईं गाउँ – गाउँ जाँदा मतदाताको प्रतिक्रिया के पाउनु भयो ? बिगतमा चुनाव जितेकाप्रति र अहिले तपाईंप्रति उनीहरुको धारणा कस्तो छ ?
अत्यन्तै राम्रो प्रतिक्रिया पाएको छु । मुलुकमा शान्ति आयो, संविधान बन्यो । यो व्यवस्थासँगै अब जनताको अवस्था परिवर्तन हुनुपर्छ । समृद्धि र विकासका लागि हामी सबै मिलेर काम गर्नुपर्छ भन्ने उहाँहरूको धारणा छ । म गाउँ–गाउँमा जाँदा उहाँहरूले कृषि क्षेत्रको आधुनिकीकरण, मूल्य श्रृंखला विकास, भण्डारण केन्द्र र बजार पहुँच, अनि चितवनमा हरित औद्योगिक क्षेत्र, रोजगारी र व्यवसायिक विकास, महत्वपूर्ण आधारभूत पूर्वाधारको विकास, दीगो विकास र गुणस्तरीय जीवन निर्माणमार्फत चितवनको नमुना सिंगो देश र विश्व समुदायमाझ प्रस्तुत गर्नसक्ने व्यक्ति तपाईं नै हो । यो निर्वाचनमा हामी त्यो अवसर तपाईंलाई प्रदान गर्छौं । चितवनका लागि काम गर्नुस्, मुलुकको आर्थिक समृद्धि र विकासका लागि योगदान गर्ने तपाईंको सोचलाई कदर गर्छौं भन्नुभएको छ ।

तपाईंसँग मतदाताले गरेका अपेक्षा र उनीहरुको भावना कस्तो पाउनु भयो ?
चितवनका लागि म नयाँ होइन । म सधैं चितवनवासीहरूको माझमा छु । उहाँहरूसँगै सल्लाह र परामर्शमा काम गरिरहेको छु । मैले उहाँहरूको भावना राम्रोसँग बुझेको छु, काम गरेको छु । मेरो भावनालाई पनि उहाँहरूले बुझ्नुभएको छ । सल्लाह, सुझाव दिइरहनुभएको छ । आखिर हामी सबैको एउटै दृष्टिकोण र गन्तव्य छ– त्यो भनेको विकसित र समृद्ध चितवन हो । त्यसका लागि हामी सधैं सँगैसँगै हातेमालो गरिरहेका छौं र त्यसलाई निरन्तरता दिनेछौं । हामी आपसी सल्लाह, परामर्श र सामूहिकतामा चितवनको साझा समृद्धिका लागि काम गर्छौं ।
तपाईंले किन र केका लागि चितवन चितवन क्षेत्र नम्बर– २ नै रोज्नु भएको हो ?
म चितवनकै बासिन्दा हो । मलाई चितवन क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय मेरो होइन, यस क्षेत्रका बासिन्दाहरूकै हो । उहाँहरूले नै आउनुहोस्, तपाईंले नेतृत्व लिएर विकसित र समृद्ध चितवन निर्माणको हाम्रो साझा दृष्टिकोणलाई कार्यान्वयन गर्नुहोस् भनेपछि म समन्वयकारी भूमिकाका लागि तयार भएको हुँ । चितवन क्षेत्र नम्बर– २ बाट प्रतिनिधिसभा निर्वाचन उठ्ने मेरो व्यक्तिगत भन्दा पनि यस क्षेत्रका आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू सबैको चाहना हो ।

तपाईं गठबन्धनको साझा उम्मेदवार हुनुहुन्छ ?गठबन्धनमा सामेल दलहरुबीच कसरी समन्वय भइरहेको छ ? चुनावी अभियानमा ? एक अर्काप्रति शंका गर्नु पर्ने अवस्था छकि छैन ?
हामी सबै सक्रियतापूर्वक निर्वाचन अभियानमा होमिएका छौं । हामी सबैको साझा पहलबाट गठबन्धनका सबै उम्मेदवारहरूलाई विजयी गराउन प्रतिवद्ध भएर लागेका छौं ।
कांग्रेसभित्रैबाटै तपाईंलाई अन्तर्घात हुने डर कतिको छ ? काँग्रेसका असन्तुष्टहरु पनि छन भनिन्छ,उनीहरुलाई कसरी समेट्नु हुन्छ ?
मलाई नेपाली कांग्रेस क्षेत्रीय समितिले नै उम्मेदवार बनाउन सिफारिश गरेर पठाएको हो । शान्ति, संविधान, लोकतन्त्र, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन दलहरू मिलेर हामी निर्वाचनमा होमिएका छौं । यस्तो अवस्थामा हामीले यसप्रकारका असान्दर्भिक र औचित्यहीन कुरामा अल्झिरहन जरुरी छैन । त्यस्तो कुनै पनि सम्भावना छैन ।
तपाइ गठबन्धनको उम्मेदवारका रुपमा हुनुहुन्छ ? एमालेबाट कृष्ण भक्त पोखेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रबि लामिछानेको पनि उम्मेदवारी छ उहाँहरुको उम्मेदवारीले तपाइँलाइ कतिको चुनौती दिएको छ ?
सबै उम्मेदवारहरूले आ–आफ्नो प्रतिवद्धता लिएर जनताका गइरहनुभएको छ । म कसैका बारे टिप्पणी गर्दिनँ । अन्तिम निर्णय गर्ने, फैसला दिने अधिकार जनताका निहीत छ । त्यसकारण हामी सबैले स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक छ भनेर मैले भनिररहेको छु । म अत्यन्त स्वस्थ प्रतिस्पर्धामा छु र जनताको फैसला पर्खनेछु । सबैतिरबाट मैले साथ पाएको छु र निर्वाचित हुनेमा विश्वस्त छु । चितवनलाई समृद्ध बनाउने मेरो सपना हो । म यसमा दृढ संकल्पित छु । समृद्ध र विकसित चितवन नै हाम्रो गन्तव्य हो ।

चितवनको विकासका लागि तपाइका एजेण्डा के के हुन त ?
मैले स्पष्टसँग चितवनवासीमाझ आफ्ना एजेन्डाहरु राखेको छु । शिक्षा,स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रको विकासमा सुधार ल्याउने,चितवनलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने । विदेशका उत्कृष्ट विश्वविद्यालयहरूको सम्बन्धनमा नेपालमै कलेजहरू स्थापना गरी अध्ययनका लागि विद्यार्थी विदेशीनुपर्ने बाध्यात्मक अवस्था अन्त्य गर्ने । चितवनलाई वाइल्डलाइफ, पर्याय, धार्मिक, सांस्कृतिक एवं साहासिक पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने । प्रादेशिक विश्वविद्यालयको स्थापना गर्ने । योजनावद्ध खेलकूदमैत्री सहर निर्माण गर्ने, ठाउँ–ठाउँमा खेलमैदान/रंगशाला स्थापना गर्ने । सुकुम्बासी समस्या समाधान गर्ने , भरतपुर महानगरपालिकामा व्यवस्थित बस्ती विकास, खुला ठाउँमा ल्यान्ड पुलिङमार्फत् व्यवस्थित बस्ती विकासको गुरु योजना तयार पारी पहिलो नमुना परियोजना सञ्चालन गर्ने । एकीकृत खानेपानी तथा ढल निकास व्यवस्थाको लागि पहल गर्ने र बजेट विनियोजन गराउने ।
गरीब तथा जेहेन्दार विद्यार्थीका लागि निःशुल्क विद्यालय शिक्षा साथै उच्च शिक्षाका लागि निजी शैक्षिक संस्थाहरूसँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था गर्ने । चेपाङ जातिको जीवन उत्थानका लागि रोजगारमूलक र सीपमूलक कार्यक्रम तर्जुमा गर्ने । युवालाई सीपमुलक तालिम तथा उद्यमशील युवा जमात तयार गर्न गरिखाने अभियानमा सरिक गराई युवा स्वरोजगार कार्यक्रम प्रभावकारी तवरले कार्यान्वयन गर्ने ।महिलालाई सीप र पुँजीमा पहुँचमार्फत् उद्यमशील एवं स्वरोजगार बनाउने ।ईच्छाकामना गाउँपालिकामा २५ शय्याको अस्पताल निर्माण गर्ने । नारायणी नदीमा अर्को मोटरेबल पुल निर्माणका लागि बजेट माग गर्ने लगायतका योजनाहरु छन् ।
प्रतिक्रिया दिनुहोस्